७ असार, काठमाडौं ।

आन्दोलनरत राष्ट्रिय जनता पार्टीका शिर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेका छन् । चुनाव वहिस्कार गरेर आन्दोलनमा लागेको राजपाले आन्दोलन पनि प्रभावकारी नभएको र चुनाव पनि २ नम्बर प्रदेशमा मात्र स्थागित भएपछि लचक भएर प्रधानमन्त्रीसँग वार्तामा जुटेका हुन् ।

आन्दोलनका लागि विभिन्न जिल्लामा खटिएका अध्यक्ष मण्डलका तीन नेता हिजो नै काठमाडौं आएको र आज प्रधानमन्त्रीसँग भेट्नका लागि राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले पहल गरेका थिए । अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्यहरु राजकिशोर यादव र अनिल झा हिजाे नै काठमाडौं आएका हुन् ।

प्रधानमन्त्रीसँग सिंहदरवारमा भइरहेको छलफलमा अध्यक्ष महन्थ ठाकुर र सदस्य अनिल झा सहभागि छन् ।

छलफलमा उनीहरुले प्रधानमन्त्रीसँग संविधान संसोधनका लागि पहल गर्न आग्रह गर्ने राजपाका एक नेताले जानकारी दिए ।

यसैबीच, राजपा नेपालले आजदेखि निर्वाचन सम्बन्धी सबै गतिविधि र कार्यक्रममा अवरोध गर्ने भएको छ । प्रचार प्रसारमा आउने उमेद्बारलाई अवरोध गरिने राजपाले जनाएको छ ।

आजदेखि तीन दिन निर्वाचन प्रचारप्रसारमा अवरोध गरिने राजपाका नेता महिन्द्र राय यादवले बताए । उमेद्बारी दर्ताको दिनदेखि नै राजपाले आन्दोलन गरिरहेपनि निर्वाचन प्रक्रियामा भने त्यसको खासै असर देखिएको छैन ।