५ मंसिर, जनकपुर।

आदोलनरत चार मधेस केन्द्रित दलका शीर्ष नेताहरुले संघीय समावेशी मधेसी गठबन्धन निर्माण गरी जारी आन्दोलनलाई अझ सशक्त बनाउने संकल्प गरेको छ ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा र तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ता बीच गत दुई दिनदेखि जारी बैठकले गठबन्धन निर्माण गर्ने निर्णय गरेको हो ।

chardalko aikta photo (1)

गठबन्धन घोषणा पछि जारी साझा वक्तव्यमा भनिएको छ —विद्यमान मधेस आन्दोलनलाई अझ प्रभावकारी, सशक्त, सहभागितामूलक र निर्णायक बनाउन हामी संगै रहि, सहकार्य गर्दै संघीय समावेशी मधेस गठबन्धन निर्माण गर्न सहमत भएका हौ।’

गठबन्धनका शिर्ष नेताहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा,संघीय मधेसी मोर्चा, दलित, मुस्लिम, पिछडावर्गसहितका मधेसी, थारु एवं कोचिला सहितका आदिवासी, जनजाति लगायत सबै आन्दोलनकारी पक्षसंग वार्ता गरी सहकार्यको वातावरण बनाउने घोषणा गरेका छन् ।

संचारकर्मीहरुको जिज्ञासामा तमरा अभियानका संयोजक जयप्रकाश गुप्ताले चार दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा माथि ‘स्वेक्षाचारी’ भएको आरोप लगाए ।