२३ चैत, काठमाडौं ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री सुशील कोइरालासँग नौबुँदे अवधारणाको संशोधनसहित वैकल्पिक प्रस्ताव माग गरेका छन्। आइतबार साँझ अनौपचारिक छलफलका लागि बालुवाटार पुगेका दाहालले यसअघि संवैधानिक राजनीतिक संवाद समितिमा संविधानबारेमा कांग्रेस-एमालेले प्रस्तुत गरेको नौबुँदे साझा अवधारणामा संशोधन माग गरेका हुन्।

अघिल्लो साताको आइतबार दुई नेताबीच भएको बैठकमा प्रधानमन्त्रीले साझा अवधारणा परिमार्जन गर्ने प्रतिबद्धता जनाएको दाबी एमाओवादी पक्षले गर्दै आएको छ।

करिब ४५ मिनेट लामो वार्तामा कोइरालाले भने आन्दोलन फिर्ता गरेर वार्तामा आउन दाहाललाई पटकपटक आग्रह गरेका थिए। संघीयता, शासकीय स्वरूप, निर्वाचनप्रणालीजस्ता विषयमा दाहालले संशोधन प्रस्ताव खोजेपछि प्रधानमन्त्रीले आन्दोलन रोकी यी विषयमा छलफल गर्न आग्रह गरेका थिए।

sushil-and-prachanda
दाहालले व्यंग्य गर्दै एक साता ढिलो भए पनि नौबुँदे अवधारणामा संशोधनसहितको नयाँ प्रस्ताव दिनुहुने भयो हैन? भन्ने प्रश्न राख्न नपाउँदै कोइरालाले भने, ‘अब आन्दोलन होइन, सहमति गरौं।’ आजको  अन्नपूर्ण पाेस्टमा खबर छ ।

दाहालले घोषित आन्दोलन रोक्न सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसला, अनलाइन भिसा प्रणाली, संविधानसभा निर्माणको नयाँ कार्यतालिकासहित संविधानसभाको बैठक बोलाउने विषयमा पनि सत्तासीन दलको संयुक्त धारणा आवश्यक रहेको जिकिर गरेका थिए।