१ साउन, एजेन्सी ।

चीनले आफ्नो भू–भागमा गैरकानुनी रुपमा भारतीय सैनिकहरु बसिरहेको भन्दै तत्काल हटाउन भारतलाई चेतावनी दिएको छ ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वामा प्रकाशित एक टिप्पणीमा चीन, भारत र भुटानको सिमा क्षेत्र नजिकै पर्ने दोक्लमबाट भारतीय फौज फिर्ता नभएसम्म कुनै किसिमको बार्ता हुन नसक्ने उल्लेख गरिएको छ ।

भारतले उक्त क्षेत्र भुटानको भएको र चिनियाँ पक्षले अतिक्रमण गरेर सडक बिस्तार गर्न लागेकाले सैनिक पठाएको बताउँदै आएको छ । चीनले सिमा क्षेत्रमा बनाउन लागेको उक्त सडकबाट आफ्नो सुरक्षामा गम्भिर चुनौती थपिने भारतको चिन्ता छ ।

सिन्ह्वामा प्रकाशित लेखमा दोक्लमबाट फौज हटाउन पटक पटक गरिएको आग्रहलाई भारतले बेवास्ता गरेको भन्दै अब पनि अटेर गरिरहे निकै लाजमर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिईएको छ ।

बिगत एक महिनादेखि चलिरहेको उक्त विवाद समाधान गर्न भारतले कुनै चासो नदेखाएको चिनियाँपक्षको ठहर छ । दोक्लमबाट भारतीय पक्षले आफ्नो फौज हटाएमात्रै बार्तामा बस्न सकिने चीनको अडान छ ।

यसैबिच भारतीय अखबार द ईण्डियन एक्सप्रेसका अनुसार भारतको केन्द्र सरकारले दोक्लमको विवादबारे बिपक्षि दलसँग छलफल गरेको छ । छलफलमा बिपक्षि नेताहरुले सरकारलाई बेईजिङसँगको तनाव कम गर्न र कुटनीतिक तवरबाट समस्याको समाधान गर्न सुझाएको समाचारमा उल्लेख छ ।

भारत र चीनबिच ४ हजार किलोमिटरभन्दा लामो जमीन जोडिएको सिमा क्षेत्र छ । सीमा विवादकै कारण यी दुई राष्ट्रविच सन् १९६२ मा युद्ध समेत भएको थियो ।