८ जेठ, भीमदत्तनगर ।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नो पार्टीलाई षड्यन्त्रमूलक ढङ्गले चुनाव चिह्न नदिएको बताएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा आज पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनाव चिन्ह नदिएर नयाँ शक्तिलाई सिध्याउन एम्बुस थापिएको बताए ।

संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचनको मुखमा सत्ताधारी दलहरु आफ्नो पार्टीविरुद्ध लागेको आरोप लगाउँदै छोटो अवधीमा चुनावको तयारी गर्न नसकिएको धारणा व्यक्त गरे ।

चुनाव चिह्न नपाएकै कारण अन्य दलसित तालमेल गरेर निर्वाचनमा होमिनुपरेको उल्लेख गर्दै उनले भने–‘हामीले निर्वाचन जितेको नगर र गाउँपालिकामा योजनाबद्ध विकासका लहर ल्याउनेछौं ।’

संयोजक डा. भट्टराईले स्थानीय तहको निर्वाचन राजनीतिको नयाँ प्रस्थान बिन्दु भएको बताउँदै देशलाई समृद्ध बनाउनका लागि नयाँ शक्ति पार्टी स्थापना भएको जानकारी दिए । रासस