१० मंसिर, लुम्बिनी (रुपन्देही)।

सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीअन्तर्गतको खुद्रा बिक्री केन्द्र (पेट्रोल पम्प) अञ्चलपुर भैरहवालाई स्थानीय अनुगमन समितिले सिलबन्दी गरिदिएको छ ।

वाणिज्य विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, नापतौल तथा गुणस्तर कार्यालय, प्रहरी र सञ्चारकर्मीसहितको टोलीले सुरु गरेको अनुगमनका क्रममा सरकारी पेट्रोल पम्पमा नै अनियमितता भएको पाइएपछि पम्पमा सिल लगाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

अनुगमनमा खटिएको टोलीले पम्पमा जाँच गर्दा पम्पमा डबल नोजल प्रयोग गरिएको पाइएपछि आफूले पम्पमा सिल गर्न आदेश दिएको प्रजिअ ढकालले जानकारी दिए ।

उनका अनुसार आयल निगमकै पम्पबाट तेलको परिमाण पूरा नपुग्ने गरी आमउपभोक्तालाई ठगिरहेको पाइएको हुँदा पम्पमा सिल लगाएर थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

अनुगमन टोलीले भैरहवाका अन्य स्थानमा पनि अनुगमन जारी राखेको छ । रासस