१६ चैत, काठमाडौं । काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस आरआरमा भएको स्ववियु चुनावमा एमाले निकट अनेरास्ववियु विजयी भएको छ ।

निर्वाचन समितिका अनुसार अनेरास्ववियुका तपेन्द्रबहादुर शाही ६९९ मतसहित सभापतिमा विजयी भएका हुन् । यस्तै सचिवमा नारायण शर्मा, कोषाध्यक्षमा संगम देवकोटा सदस्यमा मदन भण्डारी, जनक शाही, दिनेश बजगाईं, श्यामबहादुर बिक, दीपक खतिवडा, उर्वशी सिं, सुजिता धिताल र उज्जवल न्यौपाने विजयी हुनुभएको छ । चुनावको मत परिणमबारे आज औपचारिक जानकारी गराइने निर्वाचन समितिले जनाएको छ ।

हिजो तनावकैबिच आरआरमा स्ववियुको चुनाव भएको हो । अखिल क्रान्तिकारी, नेविसंघ लगायतका विभिन्न विद्यार्थी संगठनले चुनावको विरोध गर्दै रोक्ने प्रयास गरेका थिए । चुनाव भइरहेका बेला पेट्रोल बम समेत प्रहार भएको थियो । यसअघि पटकपटक स्थगित भएको चुनाव सर्वोच्चको आदेश अनुसार हिजो भएको हो ।