महेश खनाल

‘आर्लिन!’ अचानक, कहाँ-कहाँबाट यो नाउँ याद आयो। दिमागभरि आर्लिन नै आर्लिन। कैलो, सर्लक्क परेको लामो कपाल, गोरो अनुहार, हात-पाखुरा सब गोरा, लाम्चो नाक, पातलो ज्यान, रातो स्वेटर, अग्लो चप्पल, बाटुला आँखाहरु माथी कालो फ्रेमवाला चस्मा, अनि चस्मा माथी थोरै लर्केको केश। एकाएक यी सब याद आउन थाले। त्यो फ्रान्सेली केटी किन याद आएकी होली यस्तरी ! पहिले दिमागमा, अनि मुटु, फोक्सो, कलेजो त्यसपछि शरीरभरि जताततै आर्लिन नै आर्लिन।mahesh-khanal-5544579

उहिल्यै जमानामा काठमाडौँमा फ्रान्सेली कविताहरुको वाचन भएको थियो। फ्रान्सका ३ जना कवि र ४ जना कवयित्रीहरु आएका थिए, सब एक से एक। कसैले जीवनका गाथाहरु गाए, कसैले प्रकृतिको वर्णन गरे, कसैले प्रेम र विछोड सुनाए, कसैले इश्वर र भक्ति सुनाए, कसैले बुद्ध र शान्ति भने, कसैले फ्रान्सेली क्रान्ति भने।

ती मध्ये एउटी महिला थिइन्, त्यस्तै ४०-४५ की। उनले परिश्रम र भाग्यका सम्बन्धमा निकै मर्मस्पर्शी कविताहरु सुनाइन्। उनको नाउँ एन्जेलिक रोज थियो।

उनका कविताहरु सुन्दा मलाई परिश्रममाथी ठूलो विश्वास जागेको थियो। अन्त्यमा उनले आफ्नी छोरीलाई स्टेजमा बोलाएकी थिइन्। त्यतिखेरै, हो त्यतिखेरै मैले सबथोक बिर्सेको थिएँ, म बसेको सिट, त्यो कार्यक्रम, ती सयौँ सहभागीहरु, अघिसम्म सुनेका कविताहरु, मैले सब बिर्सेको थिएँ। अग्ला चप्पलहरुमा ऊ हिडिरहेकी थिई माइक भएतिर।

त्यतिखेर उसको स्वागतमा पक्कै पनि भयंकर ताली बजिरहेको हुनुपर्छ। अहँ, मैले सुन्दै सुनिन। मात्रै उसका पाइलाका टक-टक ध्वनिहरू थिए कानमा ठोक्किरहेका। पुषको जाडोमा, रातो स्वेटर लगाएर, कालो फ्रेमवाला चस्मा भित्रबाट निडर आँखाहरुले, माइक्रोफोन समाएर मै भएतिर हेरेकी थिई उसले। हो, मै भएतिर।

थाहा थिएन, म त्यो जाडोमा काँप्दै थिएँ, या उसका स्वासहरुमा बाफिदै। उसले सुस्तरी मेरो कानमै पर्ने गरि ‘नमस्ते’ भनेकी थिई। आखिर के हुँदै थियो त्यस्तो विघ्न ? मैले भाग्यलाई सम्झिएँ, ‘यो भाग्य हुनुपर्छ’।

उसले भनेकी थिई, ‘म आर्लिन।’

अनि स्टेजमा, भित्ता-भित्तामा, कुना-कुनामा झुन्ड्याईएका स्पिकरहरुमा निरन्तर गुन्जिरहेको थियो अर्लिन नै आर्लिन। म पागल हुँदै थिएँ। हो, म साँच्चै पागल नै हुँदै थिएँ। यस्तो लाग्थ्यो, त्यो विशाल हलभित्र केवल ऊ छे बोलिरहेकी, केवल म छु सुनिरहेको।

ऊ सोध्दै थिई, ‘कस्तो हुनुहुन्छ ?’

म भन्दै थिएँ, ‘थाहा छैन, तर लाग्छ म जिउँदै छु।’

ऊ सोध्दै थिई, ‘खुशी हुनुहुन्छ नी ?’

म भन्दै थिएँ, ‘थाहा छैन, तर लाग्छ यहि नै हो खुशी भनेको।’

ऊ भन्दै थिई, ‘मलाई यहाँ आएर रमाइलो लागिरहेछ’।

म सोच्दै थिएँ, ‘मलाई पनि’।

ऊ भन्दै थिई, ‘म फ्रान्समा कानुन पढ्दै छु’।

म सोच्दै थिएँ, ‘हे इश्वर, मलाई न्याय देउ’।

ऊ भन्थी, ‘नेपालीको परिश्रमले मलाई आश्चर्य गराउँछ, प्रेरणा दिन्छ’।

म सोच्थें- ‘म पनि त हुँ नी, नेपाली’।

ऊ भन्थी, ‘म नेपालीहरुलाई मन पराउँछु’।

म सोच्थेँ, ‘इश्वर, के यहि हो त न्याय भनेको ?’

उसको बोली, त्यो मिठास, त्यो धन्यवाद, त्यो ओठ, त्यो मुस्कान, उसका ती हर चीजहरु, म त्यसै त्यसै दङ्ग थिएँ।

‘के उसले मलाई हेरिहोली त ? के मलाई देखिहोली त ?’ म त्यसै त्यसै पागल थिएँ।

त्यसपछिका कार्यक्रमहरु मलाई खासै याद छैनन्। किनकि म त परिश्रमी नेपाली परें, त्यसैले म हरपल परिश्रमरत थिएँ त्यहि आर्लिनलाई भेट्न। म उसलाई भेटेर भन्न चाहन्थें ‘आर्लिन, मलाई पनि फ्रान्सेलीहरु खुब मन पर्छन्’। एकाएक म भित्रको पागलपन उम्लिरहेको थियो त्यो पुषको जाडोमा।girl-41909

कुनै उपायले काम गरिरहेको थिएन उनीहरुको सिट सम्म पुग्न। परिश्रमहरु एक एक गर्दै विफल हुँदै थिए। यस्तैमा कार्यक्रम सकिन आँट्यो। मनभित्रका विनाशकारी तत्वहरु दिमागसम्म पुगेर भन्दै थिए, ‘कठै, यो मनको कुरो त्यो मन सम्म कहिल्यै नपुग्ने भो।

अतिथिहरु आफ्नो स्थानबाट उठिरहँदा मलाई भने रिस उठिरहेको थियो। उनीहरु बाहिर ननिस्कदै म भित्रको पागलपन एक्कासी ठूलो आवाजका साथ विस्फोट भयो।
मैले अन्जानमै चिच्याएछु, ‘आर्लिन, आइ लभ यु’ ।

मन व्यग्र, अनि दिमाग अशान्त। कोठामा आएपछि गुगललाई सोधें, फेसबुकलाई सोधें, ट्विटरलाई सोधें। अहँ, चित्त बुझेन। इन्टरनेट भरि कहिं छैन आर्लिन, मात्रै एन्जेलिक छे, उसका कविताहरु छन्। दिमाग ठण्डा हुँदै गएपछि दिनभरिका कर्तुतहरु सम्झिएँ।

एकछिन आँफैप्रति हिनताबोध भयो। अनि दिमागले मनलाई सम्झायो ‘के नौलो भयो र, आखिर मुटु ज्युँदै रैछ भन्ने त थाहा भो !’ फेरी दिमाग देखेर रिस उठ्यो। दिमागलाई अरु कसले सम्झाइदेओस् ! त्यत्तिकै छोडिदिएँ।

तै पनि प्रश्नहरु ओईरीरहे, आँफै प्रति। यस्तै कि उसलाई भेटेकै भए के पो भन्थेँ हुँला ? उसले के ठान्थी होली ? मलाई पागल भन्ठान्थी। होइन, मेरो पागलपनमा रमाउन पनि त सक्थी ! यो, त्यो, किन, कसरि, सम्भव, असम्भव, स्वभाविक, अस्वभाविक, अनेकानेक प्रश्नहरुले दिमाग ह्यांग हुन लाग्यो। अनि लामो स्वास तान्दै आँफैलाई भनेँ ‘जे भो ठिकै भो, उसँग नभेटेको ठिकै भो’।

भोलीपल्ट दिउँसो भैसक्दा पनि आर्लिनको अनुहार दिमागबाट हट्नै मानेन। त्यसै त तातेको दिमाग, त्यसमाथी म:मको पिरो अचारले पसिनै निकालेको थियो। म म:म चपाउँदै आँफैजस्तो टिङ्ग्रिङ्ग ज्यान भएको सामुन्नेको धरहरालाई सिरानसम्म हेर्दै थिएँ।
‘यस बखत कहाँ होलि त आर्लिन !’

लाग्यो, ऊ त्यो धरहराको टुप्पामा गएर हेर्छु। टिकट काटेर सरासर भित्र छिरें। कस्तो मोहनी लगाएर गएकी त्यो केटीले ! धरहराका जति सिंढीहरु थिए, त्यति नै पटक सम्झिएँ होला त्यो कुइरिलाई। थाहा थिएन कोहि एक मुस्कानमा पनि यति बिघ्न पागल हुन सक्छ भनेर। धरहरा उक्लँदै गर्दा मेरो त्यो पागलपनको उचाइ पनि चुलिंदै गयो। सिरानमा पुगेँ, काठमाडौँ आफ्नै रङ्गमा थियो, आफ्नै ढंगमा थियो।

‘कहाँ होली त त्यो केटी !’

पर पर सम्म हेर्न मन लाग्यो। प्रत्येक भीडहरुमा खोज्न मन लाग्यो। ऊ फ्रान्स फर्किसकिछे जस्तो लाग्यो। कतै भेटिन। सोचें ‘यी कुइरिहरु यस्तै हुन्छन्, माया भन्ने कुरो बुझ्दैनन् यिनीहरु’। अनि बहुलाएरै एक पटक हिजो जस्तै गरि चिच्याउन मन लाग्यो, ‘आर्लिन, डन्ट ब्रेक माइ हार्ट’।

अहँ, ओर्लनै मन लागेन धरहराको त्यो उचाईबाट, पागलपनको त्यो शिखरबाट।

जालीदार फलामका बारहरुलाई च्याप्प समाएर आँखा चिम्लन मन लाग्यो। आँखा चिम्लिएर त्यहि रुपलाई सम्झिन मन लाग्यो। सम्झेँ। त्यो रुप, त्यो ओठ, त्यो मुस्कान, ती आँखा, त्यो निधार, त्यो गाला, त्यो लाली, त्यो कैलो केश, त्यो रातो स्वेटर, सब थोक। अनि त्यो मधुर आवाज मेरो कानमै आएर बोलिरह्यो, बोलिरह्यो।

सपनाको बेग्लै संसार हुन्छ, विपनाको बेग्लै। तर यो पल त्यो भन्दा पनि बेग्लै भयो। मैले हठात् आँखा उघार्दा मेरो छेउमा त्यहि केटी थिई, गुनगुनाईरहेकी। काठमाडौँले रंग फेरेको जस्तो, त्यो परको हिमालमा हिउँ पग्ले जस्तो। मैले अनिर्णयमै बोलिदिएँ – ‘आर्लिन !’

चस्मा भित्रबाटै मलाई उसले एकोहोरो हेर्न पुगी, चिने जस्तो गरि, नचिनेको जस्तो गरि। मेरो गुमेको होस कहाँ-कहाँबाट फर्किएर आयो, सायद उसँगै आयो। अनि मैले सम्हालिंदै उसकी आमालाई भनेँ, ‘माफ गर्नुहोला, मैले तपाइँलाई हिजोको कार्यक्रममा सुनेको थिएँ। तपाईंका कविताहरु निकै नै मर्मस्पर्शी छन्।’ उनले गर्वले ‘धन्यवाद’ भनिन्।

मेरो पागलपन अझैँ पनि जागिरहेको भए मैले पक्कै भन्ने थिएँ, ‘मलाई तपाईंकी छोरी साह्रै मन पर्यो’ भनेर। तर मैले सोधेँ, ‘तपाईंका अरु साथीहरु खोइ त ?’

उनले हाँसेरै जवाफ दिईन्, ‘अरुहरु होटलमै छन्। आज राति साढे ९ बजेको फ्लाइट छ। छोरीले एकदमै जिद्दी गरेकीले फर्कनुअघि एकपटक धरहरा चढ्न आएको। ‘

त्यसपछि मैले उनीहरुलाई सबथोक चिनाईदिएँ। ‘त्यो टुँडिखेल, त्यो शहिदगेट, त्यता एयरपोर्ट, त्यता रंगशाला, त्यता स्वयम्भू, …’ आदि इत्यादि। उनीसँग साहित्यका कुराहरु भए, जीवन जगतका कुराहरु भए, भाग्यका, परिश्रमका कुराहरु भए। यसै सिलसिलामा मैले उनकी छोरी आर्लिनलाई सोधेँ, ‘तपाइँले कहिलेबाट नेपालीहरुलाई मन पराउन थाल्नु भयो ?’

उसले ठट्टा गरेर ‘म नेपाल आउने निर्णय भएपछि मात्रै’ भन्दै एकछिन हाँसीरही।

यतिन्जेलको भलाकुसारीमा हामीहरु निकै नजिक भैसके जस्तो लग्यो मलाई। अनि उसैले सोधी मलाई, ‘के तपाईं फ्रान्सेलीहरु मन पराउनुहुन्न ?’

मैले पनि ठट्टा गरेरै भनिदिएँ ‘कुनै दिन फ्रान्स जाने निर्णय गरेँ भने सोच्नु पर्ला’। मैले यसो भन्दा ऊ फेरी एकछिन हाँसीरही। मैले म:म खाउँ न त भन्दा उनीहरुले हतार छ भने। अनि ट्याक्सीमा चढेपछि झ्याल खोल्दै उसले भनी, ‘तपाईं पनि नेपाली हो भन्ने थाहा पाएको भए, कसम, म नेपालीहरुलाई उहिले देखि नै मन पराउने थिएँ’। यो कुरो सुनेर म निकै फुरुङ्ग थिएँ। साँच्चै, म एकदम पागल नै थिएँ।

त्यस्तो फुरुङ्ग म, उनीहरु फर्के लगत्तै झल्याँस्स भएको थिएँ। लाग्यो पक्कै उसको रुपमा जादु छ, अनि बोलीमा मोहनी। नत्र म किन रमाएँ दुइ क्षणको लागि ? अब त उनीहरु पनि गैसके र म फेरी एक्लो छु। तर त्यो आधा घण्टाको कुराकानीले ममा छुट्टै प्रभाव पारेजस्तो छ। अहिले न पहिलेको जस्तो पागलपन छ, न दिमाग शुन्य।

भाग्यले उसलाई डोर्याएर धरहरासम्म ल्याएको जस्तो थियो, त्यसैले पनि होला, अब भाग्यप्रति अनौठो किसिमले विश्वास जागिरहेको थियो। त्यो ट्याक्सीको पछि लागेर जानुको साटो सोच्दै थिएँ, ‘यदि भाग्यमा लेखेको छ भने, त्यो आर्लिन घुमीफिरी यहीं आइपुग्छे’।

केवल आधा घण्टा थियो ऊ र म सँगै रहेको। अनि त्यहि आधा घण्टाले ममा विद्यमान पागलपन विलय गराएको थियो। यो साँच्चै अनौठो भैरहेको थियो। त्यसपछिका दिनहरुमा धेरैजसो त म आफ्नै काममा व्यस्त रहन थालेँ। कहिले काहिँ उसको झल्को आउँदा फेरी गुगललाई, फेसबुकलाई सोध्थें। अनि कतै उत्तर नपाएर आफ्नै काममा व्यस्त रहन्थें। कहिलेकाहिँ भाग्यमा दोष नै दोष देख्थें। लाग्थ्यो ‘त्यो आर्लिनले झूठो बोलेकी रैछ। नेपालीलाई माया गर्दिन रैछे उसले’।

एकदिन फेरी भाग्यले बडो आश्चर्यमा पर्यो मलाई। फेसबुकमा आर्लिनको फ्रेन्ड रिक्वेस्ट थियो। त्यसपछि फेरी म पागल हुन थालेको थिएँ।

उसले भन्थी, ‘तिमीलाई मैले कहाँ-कहाँ खोजिन।’

‘तिमी’? हो अब सम्बन्ध तिमीमा पुगीसकेको थियो।

म सोध्थें, ‘के मुटुमा पनि खोज्यौ ?’

ऊ हाँस्थी, ‘यहाँ त मेरो मुटु नै छैन।’

‘कानुनको विद्यार्थीलाई किन चाहियो र मुटु ? अदालतमा मन होइन, दिमाग चलाउनु पर्छ।’

‘अनि अदालत नै मायाको रैछ भने ?’

म हाँस्थे, अनि भन्थेँ, ‘हारें, म वकिलसँगको बहसमा कहिल्यै जित्दिन।’

ऊ भन्थी, ‘तिमीलाई जिताउन मै हारिदिउँला नि बरु’।

‘जित्ने पर्छ भने म बहस गरेर होइन, माया गरेर जित्छु। मायाको अदालतमा बहस होइन, माया नै गर्छु।’

यसो भन्दा ऊ हाँस्थी अनि सोध्थी, ‘साँच्चै, कति माया गर्छौ मलाई ?’

म भन्थेँ, ‘तिमीले मलाई गरेको भन्दा बढी’।ऊ फेरी बेस्कन हाँस्थी।

म सोच्थेँ, ‘यी कुइरिहरु यस्तै हुन्छन्, माया भन्ने कुरो बुझ्दैनन् यिनीहरु’।

कुरै कुरामा म भन्थेँ, ‘यदि म मेरो मुटु तिमीलाई दिन्छु भने तिमीलाई मात्रै दिन्छु, त्यो अरु कसैको हुन दिन्न’। उसले मेरो कुरा हाँसोमै उडाईदिन्थी, भन्थी, ‘भो त्यस्तो दु:ख गर्नु पर्दैन। त्यसै पनि मलाई माया गर्नेहरु हजार छन् यहाँ’।

म भन्थेँ, ‘अरु ९९९ त अरु हजारौँलाई पनि मुटु दिन्छन्। केवल म नै हुँ तिमीलाई चोखो माया गर्ने’। यसो भन्दा ऊ बेस्सरी हाँसीदिन्थी। साँच्चै, यी कुइरिहरु माया भन्ने कुरो बुझ्दै बुझ्दैनन्।

धेरै पछि, साथीहरुसँग छुट्टी मनाउन ऊ नेपाल आउने भई। दशैँको बेला थियो। मौसम खुल्ला, जताततै फूलैफूल फुलेका, चराहरु त्यस्तै रमाइलो मानेर उडेका, अनि प्रेम ? प्रेमको त झन् परिभाषा नै बेग्लै। एयरपोर्टमा भेट्ने बित्तिकै मलाई उसले अँगालो हालेकी थिई। अनि मैले केहि भन्न नपाउंदै भनेकी थिई, ‘म तिमीसंग तिम्रो घर जान चाहन्छु’ ।

मैले बाध्य भएर ‘हुन्छ’ भन्नु परेको थियो। साथीहरुसंग अलग्गिएर मसँग जाँदै गर्दा मैले सोधेको थिएँ ‘आखिर किन जान चाहन्छौ मेरो घर?’ उसले मेरो कानमा उसका ओठहरु टाँसेर भनेकी थिई, ‘तिमीलाई तिम्रै घरमा पुगेर माया गर्ने मन छ’। अनि बेस्सरी हाँसेकी थिई ऊ। तर मलाई थाहा थियो ऊ किन जाँदैछे मेरो घर, अनि किन अटुट विश्वास गर्दै छे म माथी।

ऊ संगाल्न चाहन्थी जीवनका, जगतका अनेकन भिन्न खाले अनुभूतिहरु जसले उसलाई अदालतमा उभिँदा होस् या जिन्दगीमा उभिँदा, हरस्थान अब्बल बनाउन ठूलो भूमिका खेल्थे। अनि विश्वास ? विश्वास त म पनि त गर्दै थिएँ नि ऊ प्रति !

गाउँभरी गाईंगुईं मच्चिएको थियो, फलानोले कुइरि बोकेर ल्यायो भनेर। उसले गाउँ घुमी, पँधेराको पानी पिई, पिङ्ग खेली, बच्चाहरुसंग दौडीई, बुढापाकाहरुसँग कुरा गरि।

धेरै रमाई ऊ। मैले उसलाई खोलामा माछा मार्न लगेँ, ऊ माछा मार्न छोडेर मलाई पानी छ्याप्न थाली। अनि पानीले निथ्राप्पै भिजेर उसका कपडाहरु त्यो गोरो छालामा चपक्क टाँसिएका थिए। खोलाका किनारमा सेताम्मै काँस फुलेको थियो, छेवैका खेतहरूमा धान पाकेर पहेंलपुर भएको थियो। अनि ऊ काँसै काँसको बिचमा दगुर्थी, खेतका आलीहरुमा दगुर्थी। मैले पोल्टाभरि कटुस बटुलेर ल्याउँदा ऊ खुब दङ्ग पर्थी, अनि चौतारामा बसेर जानी नजानी कटुस फोर्थी।

एक पटक चंगा उडाउन गएका थियौं हामी, डाँडामा। डाँडामा एउटा घर छ, दुई तले पुरानो घर। उहिलेका मुखियाको घर, अहिले त्यहाँ कोहि बस्दैनन्। भूत बस्छ भन्छन् मानिसहरु। अनि त्यहाँ बडो मीठो हावा चल्ने गर्छ, दिनैभर, रातैभर। हामीले चंगा जुधाई खेल्यौँ त्यहाँ। चंगाहरु आकाशमा लटारिंदै गर्दा ऊ जमिनमा मसँग लटारिन आइपुग्थी।

केटाकेटीहरु चंगा लटारिएको हेर्थे। वस्तु चराउन आएका महिलाहरु भने हामी लाटरिएको हेर्दै ‘हेर न हेर, कस्ती उत्ताउली’ भन्दै खासखुस खासखुस गरिरहन्थे।

दशैँमा बा-आमाको हातबाट टिका पनि थापी उसले। कति राम्री देखिएकी थिई ऊ त्यतिबेला। रातो टिका, पहेंलो जमरा, कस्तो सुहाएको। म त एकोहोरो उसलाई नै हेरिरहेको थिएँ। सायद त्यहि बेला होला ऊ हाँस्न छोडेर लजएकी।

त्यसको केहि दिनमा ऊ आफ्नै साथीहरुसँग फ्रान्स फर्की। एकपटक पेरिसका गल्लीहरुमा बन्दुकधारिहरुले गोली चलाउँदा केहि छिनमै उसैले मलाई खबर गरेकी थिई ‘म ठिक छु, आत्तिनु पर्दैन’ भनेर। यस्तो बिघ्न प्रेम गर्न शुरु गरेकी थिई उसले मलाई।
तेस्रो पटक काठमाडौँ झर्दा उसले मलाई आफ्नै हातले बुनेको गलबन्दी ल्याई। त्यो पनि उत्पातै मायाले बुनेको रे। ‘तिमीलाई यस्तो बुन्न पनि आउँदो रैछ त !’ मैले आश्चर्य मान्दै सोधेको थिएँ।

भन्थी, ‘तिमीले जस्तो माया गर्न आउँदैन, अरु सबथोक आउँछ’।

‘जाडो सक्कीसक्यो, के काम यसको ?’

ऊ आँखा तार्थी, ‘के फिर्ता लैजाउँ त?’

‘किन आयौ अपर्झट ?’

‘किन ? आउनु हुँदैन ? धरहरा चढ्न आएकी हुँ।’

‘पहिलो पटक नै चढेकी होइनौ र ?’

‘त्यो बेला त तिमीलाई हेर्दैमा ठिक भयो। यसपटक काठमाडौँ हेर्ने, म:म पनि खाने।’
हामीले म:म खायौँ, धरहरा चढ्यौँ। ‘मलाई नहेर्नु, काठमाडौँलाई मात्र हेर्नु’, यसो भन्दा ऊ बेस्सरी हाँस्थी। म फेरी सोध्थें, ‘धरहरा सुन्दर कि आइफेल टावर ?’

ऊ भन्थी, ‘तिमी यहाँ छौ, त्यसैले धरहरा सुन्दर। आइफेल टावरमा उभियौ भने फेरी आइफेल टावर सुन्दर’।

‘ओहो, कस्तो बोल्न जानेकी !’

‘तिमीले जस्तो माया गर्न आउँदैन, अरु सबथोक आउँछ।’ अनि ऊ फेरी हाँस्थी।

हामी स्वयम्भू गयौँ, पाटन, भक्तपुर, बसन्तपुर गयौँ। उसले गाढाका ससेज र सेकुवा चपाई। रिक्सा चढी। अनि बेलुकी ठमेलको रमझम, उसले यी सब अनुभवहरु हृदयसम्मै पुर्याई।

राती ननिदाउँदै मैले उसका लामा केशहरु औलाहरुले कोर्दै प्रश्न गरेँ, ‘साँच्चै, मलाई कहिले देखी मन पराउन थाल्यौ, हँ ?’

उसले लगाईराखेको चस्मा फुकाली, अनि मेरा हातहरु समातेर मेरा आँखाहरुमा टोलाएर भनी, ‘तिम्रा आँखाहरु देख्ना साथ। तिमीलाई देख्ना साथ।’

‘कहिले ?’

‘जतिखेर मेरी आमाले मलाई अगाडी स्टेजमा बोलाउनुभएको थियो, त्यतिखेरै।’ ऊ भन्दै थिई, ‘थाहा छ, तिमीलाई देखेरै मैले भनेको थिएँ मलाई नेपालीहरु मन पर्छन् भनेर।’

उसले भनिरही, ‘त्यतिबेलादेखी नै तिमीले मलाई जादु गर्यौ, त्यतिबेला नै तिम्रा आँखाहरु एक टक लाएर हेरिरहन मन लागिरह्यो, तिम्रो बोली सुन्न मन लागिराह्यो। अनि जब म आफ्नो सिटमा फर्किएँ, मैले भगवान जिजसलाई मात्रै होइन, तिम्रा भगवानहरुलाई पनि पुकारें। कृष्णलाई, शिवलाई, बुद्धलाई, सबलाई पुकारें मैले। अनि थाहा छ, जब म बाहिर निस्कँदै थिएँ, तिमीले कानमै आएर भनेजस्तो लाग्यो … आर्लिन, आइ लभ यु।’

मैले उसका आँखाहरुबाट मेरा आँखाहरु हटाउन सकिन। उसका हातहरुलाई बेस्सरी अँठ्याउन मन लाग्यो। उसका हर स्वासहरुमा बाफिन मन लाग्यो। हिउँ पग्ले जस्तै गरि पग्लिंदै, नदीका छालहरुजस्तै उर्लिदै उसका ओठहरु छुन मन लाग्यो … ओठहरुले नै।

भोलिपल्ट एयरपोर्टमा छुट्टिने बेला उसले आँशु झार्दै भनी, ‘तिमी किन आउँदैनौ फ्रान्स ? म लान्छु भन्दा पनि ?’ उसले सुँक्क, सुँक्क गर्दै भनी, ‘आइफेल टावर चढाउँला, समुद्रमा पौडी खेल्न जाउँला, पेरिसका गल्ली गल्ली घुमाउँला। तिमीले नेपालमा माया गरे भन्दा बढी माया गरुँला तिमीलाई त्यहाँ।’

मैले उसका आँशु पुछ्तै भनेँ, ‘जाऊ आर्लिन, ढिलो भैसक्यो।’ उसले मेरो छात्तीमा एक मुड्की ड्याम्म हानी अनि भनि, ‘यी नेपालीहरु यस्तै हुन्छन्, माया भन्ने कुरो बुझ्दैनन् यिनीहरु’।

उसले चढेको जहाज आकाशमा उडिसकेको थियो। त्यहिबेला पुरै जमिन हल्लिएको थियो। घरहरु, पर्खालहरु पालै पालो ढल्दै थिए। मानिसहरु एक्कैपटक चिच्याउदै थिए। जताततै त्रास नै त्रास। अगाडिको म जस्तै लुरे धरहरा उभिन छोडिसकेको थियो। एम्बुलेन्सको दगुराई, अस्पताल अगाडी बिरामीको लर्को। त्यसबखत मैले केवल घर सम्झें। पर्सिपल्ट गाउँ पुग्दा प्राय: घरहरु ढलेका थिए, तर त्यो डाँडाको पुरानो दुईतले घर उस्तै थियो, उभ्भीरहेको। अनि बल्ल मैले सम्झिएको थिएँ आर्लिनलाई। लाग्यो साँच्चै मैले माया भन्ने कुरो बुझेकै रैनछु। मनमनै भनेँ, ‘माफ गर आर्लिन, मैले तिमीलाई माया गरेकै रैनछु। तिमीले जस्तो गरि तिमीलाई सम्झेकै रैनछु।’

हो, आज महिनौँपछि, त्यो गोरो अनुहार, कैले लामो केश, लाम्चो नाक, रातो स्वेटर, बाटुला आँखाहरु याद आइरह्यो। दराजभित्रबाट उसले उत्पातै मायाले बुनेको गलबन्दी निकालेँ। त्यसमा उसकै अत्तरको बासना अझैं पनि उस्तै नै छ। जाडो त सक्कीसक्यो, तैपनि गलबन्दी बेरेर छतमा निस्कन मन लाग्यो।

पश्चिम क्षितिजमा सूर्य अस्ताउँदै छ। आकाशमा बथान बनाएर उडिरहेका चराहरुको चिर्बिर ध्वनि हावासँगै कहिले यता र कहिले उता गरिरहेछ। गलबन्दीको एक छेऊ हावासँगै, त्यस्तै, कहिले यता र कहिले उता गरिरहेछ। सुनौलो घामका शीतल किरणहरु आजलाई अन्तिम पटक दुर दुर सम्मका बस्तीहरु चम्काउन त्यहि हावासँगै कुदेजस्तै लाग्छ। एकैपटक आँखा चिम्लिन मन लाग्यो। आँखा चिम्लिएर त्यहि रुपलाई सम्झिन मन लाग्यो। सम्झेँ। ‘आर्लिन … ‘।

अनि त्यो मधुर आवाज मेरो कानमै आएर बोलीरह्यो, बोलीरह्यो। ‘महेश !’

महेशका अन्य लेख:
शुन्य मस्तिष्कका कोलाहल पाटाहरु…