१८ माघ, इलाम।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आवश्यक परे मात्र तीनतहको निर्वाचन पछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् ।

संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा सोमबार इलामको लक्ष्मीपुर गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गरेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका हुन ।

नेपाली काँग्रेस र नेकपा (माओवादी (केन्द्र) सँग देश विकास गर्ने कुनै नयाँ भिजन नभएको बताउँदै उनले सरकारले खुट्टा कमाएकाले अझै पनि निर्वाचनको मिति घोषणा गर्न नसकेको हो, भने ।

“अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ”, उनले भने, “निर्वाचनपछि एमाले देशकै ठूलो पार्टी हुने र मुलुकलाई सफल तरिकाले हाक्नेछ ।”

सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे निर्वाचनको मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै निर्वाचन नहुँदा मुलुकमा बेथिती बढेको उनले उल्लेख गरे।

अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उनले संविधान संशोधनको प्रस्ताव विदेशीको दबाबमा संसद्मा दर्ता भए पनि कुनैपनि हालतमा पास हुन नदिने विचार व्यक्त गरे ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गर्ने ८६ घरका १७५ जनाभन्दा बढीलाई उनले आफ्नो पार्टीमा स्वागत गरे । रासस