२ मंसिर, नयाँदिल्ली । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भारत भ्रमणमा आउने भ्रमण तालिका तयार भएको छ । उनी अर्को वर्षको जनवरीमा तीन दिनका लागि औपचारिक भ्रमणमा आउने तयारी भएको श्रोतले शनिबार जनाएको छ ।

सन् २००३ पछि भारत भ्रमण गर्ने नेतान्याहु दोस्रो इजरायली प्रधानमन्त्री हुने भएका छन । भारत र इजरायल बीचको कुटनीतिक सम्वन्ध स्थापना सन् १९९२ मा भएको थियो ।

भारतमा उनको भ्रमण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातको अहमेदवादबाट सुरु हुने भएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहुलाई भारतीय प्रधानमन्त्री मोदीले नै आफ्नो गृहनगरमा जनवरी १४ तारिखका दिन भ्रमण गराउने भएका छन ।

“व्यापार, कृषि र नविनोत्पादन दुई देशका प्रधानमन्त्रीको छलफलका मुख्य एजेण्डा हुने छन्,” श्रोतले भन्यो ।

गुजरातपछि इजरायली प्रधानमन्त्री नेतान्याहु भारतको राजधानी नयाँदिल्ली आउने तालिका रहेको छ । नयाँदिल्लीमा उनले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग भेटबार्ता गर्ने भएको श्रोतले जनाएको छ ।

“नेतान्याहुले विश्वका सात आश्चर्य मध्य एक मानिने ताज महलको पनि अवलोकन भ्रमण गर्ने संभावना रहेको छ,” श्रोतले भन्यो ।