२१ कात्तिक, काठमाडौं ।

आपुर्ति मन्त्री गणेशमान पुनले इन्धन संकटको बेला फाइदा उठाउँदै आयल निगममा घोटाला गर्न खोजिएको भनिएकोबारे छानविन भैरहेको बताएका छन् । आयल निगमबाट करोडौं घोटाला हुन लागेकोबारे आफुले पनि सुनेको र त्यसको सत्यतथ्य बारे बुझिरहेको उनको भनाइ छ ।

नेपाली हेडलाइन्सका संवाददातासँग मन्त्री गणेशमान पुनले आफूलाई झुक्काएर करोडौंको खेल भैरहेको संकेत समेत गरेका छन् । यद्यपी यसबारे सत्यतथ्य बुझिरहेको उनको भनाइ छ ।

Ganesh Man Pun
देश संकटमा परिरहेको समय हजारौं जनताले दुःख पाइरहेको समयमा मौकाको फाइदा उठाउन खोज्ने जो कोहीलाई नछोड्ने उनले स्पष्ट पारेका छन् ।

आफूले यसबारे कुरा बुझिरहेको र सत्य ठहरिए यस्तो गर्न खोज्नेलाई कडा कारवाही गर्ने पनि उनले कडा कार्वाही गर्ने उनको भनाइ छ । यसैबीच शनिबार बसेको उद्योग वाणिज्य उपभोक्ता हित सम्बन्धी समितिले आपूर्ति मन्त्रालय तथा आयल निगमलाई इन्धन आपूर्तिकालागि विराट पेट्रोलसंग भएको सम्झौता सम्बन्धी सम्पूर्ण कागजात समितिलाई बुझाउन निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रालय र निगमलाई तत्काल कागजात बुझाउन निर्देशन समेत दिएको हो ।

करोडौंको खेल के हो ?

बिराटनगरको विराट पेट्रोलियमले नेपाल आयल निगमबाट १५ दिनका लागि पेट्रोल र डिजेल आपूर्तिका लागि टेण्डर हात पारेको छ । त्यो पनि अहिलेको बजारमूल्यको दोब्बरभन्दा बढी मूल्यमा । यसरी १५ दिनमै करोडौ घोटाला गर्ने प्रयोजनले निगम र विराट पेट्रोलियमले खुलेआम साँठगाँठ गरेका छन् । भारतको सिलिगुडीमा प्रतिलिटर पेट्रोल ६६.११ भारु (१०५.७७ रुपैयाँ) पर्छ ।

त्यसैगरी, डिजलको मूल्य ४९.५५ भारु (७९.२८ रुपैयाँ) पर्छ । अहिले आयल निगमले प्रतिलिटर ६५ रुपैंयाँमा खरीद गरेर यहाँ १ सय ४ रुपैंयाँमा विक्री गरिरहेको छ । तर, विराट आयलले १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजल निगमलाई बिक्री गर्ने सम्झौता गरेको छ । यसमा भन्सार, भ्याट र सडक शुल्क जोड्दा प्रतिलिटर पेट्रोलकै २ सय ३० रुपैंयाँभन्दा बढी मूल्य उपभोक्ताले तिर्नुपर्ने हुन्छ । समस्या भएको र संकट परेको मौकाछोपी निगमलाई, देशलाई र उपभोक्तालाई नै डुवाउने खेल हुनुमा निगम प्रबन्ध निर्देशक खड्काले मोटै रकम कुम्ल्याउन खोजेको प्रष्ट हुन्छ ।

अर्कातर्फ भारतको नाकाबन्दीका कारण नेपाल आयल निगमले इण्डियन अयल कर्पोरेशनसँग ४१ वर्षदेखि निरन्तर खरीद गर्दै आएको पेट्रोलियम पदार्थ आयातमा समस्या देखिएको छ । विराट पेट्रोलियमले पनि नेपाल भारत स्थल सीमानाका हुँदै नै पेट्रोलियम पदार्थ उपलब्ध गराउने भनिएको छ । भारतको सिलगुढीबाट काँकडभित्ता नाकासम्म विराट पेट्रोलियमले पेट्रोलियम पदार्थ ल्याइदिने र त्यसपछि आयल निगमले भन्सारसमेत आफैंले तिरेर ल्याउने सम्झौतामा छ ।

Nepal oil Nigam

बिहीबार भएको व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको बैठकमा सांसदहरुले जनताको करबाट चलेको निगमलाई टाट पल्टाउने र करोडौं कुम्ल्याउने उद्देश्यले खड्का आफ्नोसमेत लगानी रहेको निजी कम्पनीबाट दोब्बर बढी मूल्यमा तेल किन्न खोजेको भन्दै र्‍याख र्‍याख्ती पारेका थिए । खड्कालाई पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले निगमको प्रबन्ध निर्देशकमा नियुक्त गरेका थिए ।

निगमको सुधार तथा आपूर्ति व्यवस्थामा राम्रो प्रयास थालेका चण्डिकाप्रसाद भट्टलाई हटाएर खड्कालाई नियुक्त गरेदेखिनै उनको नियतमाथि शंका उब्जिएको थियो ।