२१ असोज, काठमाडौं । नेपाल–भारत प्रबुद्ध ब्यक्ति समूह इपिजीको बैठक आजदेखि काठमाडौंमा शुरु भएको छ । होटल र्याडिसनमा शुरु भएको बैठकमा नेपाल र भारतबिच रहेका सबैखाले सन्धि सम्झौताको समीक्षा गरिने इपिजीमा नेपाल तर्फका संयोजक परराष्ट्रविद् डाक्टर भेषबहादुर थापाले जानकारी दिए ।

भोलीसम्म चल्ने बैठकमा नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्रि सन्धि, जलस्रोत क्षेत्रमा भएका सन्धिसम्झौता, ब्यापार तथा पारवहनलगायत सम्झौताहरुबारे बुँदागत रुपमा छलफल हुने उनले जानकारी दिए । समुहलाई नेपाल र भारतबिच भएका सबै सन्धि सम्झौताको समिक्षा गरी प्रतिवेदन बुझाउनु पर्ने जिम्मेवारी दिइएको छ ।

इपिजीमा नेपाल र भारतका चार/चार जना सदस्य छन् । इपिजीको बैठक नेपाल र भारतमा पालैसंग बस्दै आएको छ । समूहलाई आ–आफ्नो देशका बौद्धिक समूह, परराष्ट्र विज्ञ, सन्धि–सम्झौता, सम्बन्धित दस्तावेजको अध्ययन–अनुसन्धान गरी संयुक्त बैठकमा छलफल गरेर संयुक्त प्रतिवेदन बनाई आ–आफ्ना सरकारसमक्ष पेस गर्ने कार्यादेश छ ।