११ चैत, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पलाई ह्वाइट हाउसमा अफिस दिइएको छ । उनी आफ्नो पिताको काममा सहयोगी बन्नेछिन् र उनलाई सल्लाह दिनेछिन्।

३५ वर्षकी इभान्का डोनाल्ड ट्रम्पको आखाँ र कान भएर काम गर्नेछिन् तर वेस्ट विङ्गमा काम गर्नको लागि उनलाई कुनै पद वा ओहोदा दिइएको छैन।

पुरै विश्वमै हाई प्रोफाइल छोरीहरुको सूचीमा एक सफल व्यावसायी र सेलेब्रेटी इन्भान्का नयाँ नाम हो ।

दुनियाँका प्रभावशाली ‘फर्स्ट डटर्स’

४३ वर्षकी मरियम नवाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफकी छोरी हुन ।

आफ्नो पारिवारिक समाजसेवी संस्थाको जिम्मेवारी सम्हाल्दै उनले सन् २०१३ मा आफ्नो पिताको सफल चुनावी प्रचारमा पनि महत्वपूर्ण भूमिका निभाएकी थिइन।

बीबीसी भन्छ पाकिस्तानको राजनीति निकै शक्तिशाली भएर विकसित हुँदैछ। अघिल्लो वर्ष पानामा पेपर्समा पनि उनको नाम आएको थियो ।

रुस

रुसी राष्ट्रपति भ्ल्यादमिर पुटिनका दुइ छोरी छन्। सन् २०१५ मा उनकी कान्छी छोरी यकातेरिना एकाएक चर्चामा आइन। कारण थियो उनी नाम परिवर्तन गरि, क्याटेरिना टिखोनोवाको नामले मस्कोमा बसेकी रहिछन् । कथित रुपमा उनीसंग लाखौ डलरको विदेशी कन्ट्र्याक्ट छ र उनी पुटिनको नजिककी सल्लाहकार हुन।

टिखोनोवा ‘रक एण्ड रोल डान्सर’ पनि हुन र सन् २०१३ को विश्व च्याम्पियनशिपमा उनी पाँचौ स्थानमा आएकी थिइन ।

अफ्रिका
अंगोलाका वृद्ध राष्ट्रपति जोस एडुआर्डो डोस सेन्टोसकी जेठी छोरी ४३ वर्षकी इसाबेका डोस सेन्टोस सरकारी तेल कम्पनी सोनागोलको प्रमुख हुन । सन् २०१३ मा फोर्ब्स म्यागजिनले उनलाई अफ्रिकाको सबैभन्दा धनी महिला बताएको थियो।

उनको कुल सम्पति ३.२ अरब डलर छ।

टर्की
टर्कीका राष्ट्रपति रेशेप तैयप एर्दोगानकी कान्छी छोरी ३१ वर्षीया सुमेयी एर्दोगान आफ्ना पितासंग सबैभन्दा नजिक मानिन्छिन्। ब्रिटेनमा पढेकी सुमेयी आफ्नो पिताको सल्लाहकार भइसकेकी छिन र कयौं राजनीतिक भ्रमणमा पितासंग संगै सहभागी भएकी छिन्। उनी आफ्नो पिता र सरकारको खुला समर्थक हुन।

ताजकिस्तान
ताजकिस्तानका राष्ट्रपति इमोमाली रहमोनकी ३९ वर्षीया छोरी ओजोदा रहमोन, कानूनको विद्यार्थी हुन र सन् २००९ मा उनी उप-विदेश मन्त्री बनेकी थिइन।

अघिल्लो वर्ष उनको पिताले उनलाई राष्ट्रपति प्रशानको प्रमुख बनाइदिए। उनी सिनेटको सदस्य पनि हुन।

क्युबा
क्युबाका राष्ट्रपति राउल कास्त्रोकी छोरी मेरियेला कास्त्रो संससको सदस्य हुन र लैंगिक अल्पसङ्ख्यक अधिकारको चर्चित कार्यकर्ता पनि हुन।

उनी सरकारी संस्था नेशनल सेन्टर फर सेक्स एजुकेशनको प्रमुख हुन। र एड्स रोक्ने र समलिङ्गी अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन्।