८ असार, एजेन्सी ।

इस्लामिक स्टेट जिहादी संगठनले इराकको ऐतिहासिक अल नुरी मस्जिद र यसको शताब्दीऔँ पुरानो मिनारलाई ध्वस्त बनाएका छन । आकाशबाट लिइएका तस्वीरहरुमा उक्त मस्जिदको अधिकांश हिस्सामा क्षति पुगेको र मस्जिद भित्रको स्तम्भ ढलेको देखिएको छ ।

इराकी प्रधानमन्त्री हैदर अल अबादीले उक्त मस्जिदलाई भत्काएर इस्लामिक स्टेटले आफ्नो पराजय स्वीकार गरेको बताएका छन । अमेरिकी सेनाले उक्त घटनालाई मोसुल र इराकका नागरिकमाथिको अपराध भनेको छ ।

अमेरिकी हवाई आक्रमणका कारण मस्जिद भत्किएको भन्ने जिहादीहरुको आरोपको पनि उसले खण्डन गरेको छ । सरकारी फौजहरु अघि बढेपछि इस्लामिक स्टेटले उक्त मस्जिदमा विस्फोटन गराएको इराकी सैनिकले दावि गरेको छ ।

उक्त मस्जिद ध्वस्त हुनुलाई एकदमै साङ्केतिक घटनाका रुपमा हेरिएको छ । तीन वर्षअघि खलिफा भनिने आफ्नो शासन क्षेत्र घोषणा गरेपछि इस्लामिक स्टेटका नेता अबु बकर अल बग्दादी उक्त मस्जिदमा सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए ।

उक्त मस्जिदलाई मोसुलको सबैभन्दा विशिष्ट किसिमको सम्पदा मानिन्थ्यो । केही ढल्किएको उक्त मस्जिदको मिनार झण्डै ९०० वर्ष पुरानो रहेको बताउने गरिन्थ्यो ।