२१ पुष, एजेन्सी। इरानसँगको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकलाई पनि धम्की दिएका छन् । इराकी संसद्‌ले अमेरिकी सेनालाई देश छोड्न भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इराकविरुद्ध कडा प्रतिबन्ध लगाइदिने धम्की दिएका हुन्।

‘हाम्रो निकै महँगो हवाई अखडा त्यहाँ छ। त्यो बनाउन अर्बाैँ डलर लाग्यो। हामीलाई त्यो रकम नतिरेसम्म हामी इराक छोड्दैनौँ ‘उनले पत्रकारहरुसँग भने। अमेरिकाले गत हप्ता एकजना वरिष्ठ इरानी सैन्य नेता कासिम सुलेमानीलाई बग्दादमा मारिदिएपछि मध्यपूर्वमा तनाव चुलिएको छ।

इरानले आफ्नो प्रभावशाली सैन्य नेताको हत्याको बदला लिने उद्घोष गरेको छ। ६२ वर्षीय सुलेमानीको नेतृत्वमा मध्यपूर्वमा इरानी सैन्य गतिविधि सञ्चालित थियो। तर अमेरिकाले उनलाई आतङ्ककारी मानेको थियो। सञ्चारमाध्यमसँग कुरा गर्दै ट्रम्पले यदि इराकले अमेरिकी सेनालाई मित्रवत् रूपमा देश छोड्न भन्यो भने इराकविरुद्ध प्रतिबन्धहरू लगाउने बताए।

‘हामी उनीहरूले पहिला कहिल्यै नभोगेको प्रतिबन्ध लगाइदिनेछौँ। त्यसले इरानविरुद्ध लगाइएको नाकाबन्दीलाई पनि फिक्का पारिदिनेछ’ ट्रम्पकाे भनाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेकाे छ । लडाकु समूह इस्लामिक स्टेटविरुद्ध युद्ध हुँदा बनेको अन्तर्राष्ट्रिय गठबन्धनअन्तर्गत अहिले इराकमा झन्डै ५,००० अमेरिकी सैनिक छन्।

उनको पार्थिव शरीर इराकबाट स्वदेश लगिएको छ। सोमवार बिहान हजारौँ मानिसहरू तेहरानमा उनको शवयात्रामा सहभागी भए। सुलेमानी इरानको इस्लामिक रेभलूशनरी गार्ड्स कोर (आईआरजीसी) अन्तर्गत रहेको विशेष सैन्य बल ‘कूड्स फोर्स’का प्रमुख थिए। उनका उत्तराधिकारीले अमेरिकालाई मध्यपूर्वबाट निकाल्ने वाचा गरेका बीबीसीले जनाएको छ ।

गएको शुक्रवार बग्दाद विमानस्थलमा गरिएको हवाई आक्रमणमा सुलेमानीसहित इरानको समर्थनप्राप्त इराकी लडाकु समूह कताइब हेज्बूलाका नेता अबु महदी अल‍ मोहन्दिसको पनि मृत्यु भएको थियो।