७ चैत, उरुग्वे । उरुग्वेनजिकै बिहीबार १० यात्रु लिएको अर्जेन्टिनाको एक सानो विमान उडेको केही समयपछि नै दुर्घटना हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् ।

अन्य तीन व्यक्ति हराइरहेको र अन्य कोही जीवितै फेला नपरेको अग्नि नियन्त्रण विभागका प्रवक्ता लिन्ड्रो पालोमेकले दिए ।

बिचक्र्याफ्ट नाम दिइएको उक्त विमान उरुगुए नजिकैको एक विमानस्थलबाट उडेको तथा पर्यटन नगर पुन्ता डेल एस्टेमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।

उक्त विमानमा चालक, सहचालक तथा अन्य आठ यात्रु रहेको बताइएको छ ।

विमानमा रहेका दुई चालक तथा अन्य सात यात्रु अर्जेन्टिनाका नागरिक भएका र अर्की एक महिला पोर्चुगलका नागरिक भएको वायुसेनाले जानकारी दिएको छ ।

दुर्घटनाको कारण तत्कालै थाहा नभएको र एयर ट्राफिक नियन्त्रकहरूले विमान उडेको केही समयपछि नै उनीहरूले एक विस्फोट देखेको जानकारी दिए । रासस,एएफपी