१९ चैत, बाजुरा । चालु आवमा कृषि क्षेत्रको उत्पादनमा योगदान पु-याएबापत यहाँका तीन कृषक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् ।

उनीहरुलाई रु १० हजारका दरले सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय बाजुराले जनाएको छ । यस वर्ष आव ०७३/०७४ का लागि बूढीगङ्गा नगरपालिका–६ का काशीराम पाध्याय, बडिमालिका नगरपालिका–२ का मदनराज पण्डित र छेडेदह गाउँपालिका–६ का दया नाथ शुक्रबार समापन भएको बृहत् कृषि तथा खाद्य मेलामा सम्मानित भएको जिल्ला कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले बताए ।

जिल्ला सदरमुकाम मार्तडीमा बिहीबारदेखि सुरु भएको मेलामा सहभागी एक सय ५४ कृषकमध्ये २१ जना अन्य कृषक पनि विभिन्न सात विधामा पुरस्कृत भएको जिल्ला कृषि विकास कार्यालयका मीनप्रसाद जैशीले बताए । फलफूल, दलहन, मसला, आलु, तरकारी, खाद्यान्न र विविध बाली गरी सात विधामा उनीहरुलाई प्रतिस्पर्धा गराइएको थियो ।

सबैमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने कृषकलाई प्रमाणपत्रसहित क्रमशः रु एक हजार, रु सात सय, रु पाँच सय र रु तीन सय नगदसहित पुरस्कृत गरिएको थियो । सो अवसरमा एक सय २३ बालीका बीउ पनि सङ्कलन गरिएको थियो । रासस