सोल, ३२ जेठ ।

उत्तर कोरियाले पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दाबी गरेको केही सातापछि आइतबार छोटो दुरीको तीन क्षेप्यास्त्रको समुद्रमा परीक्षण प्रक्षेपण गरेको जानकारी दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयले दिएको छ ।

उत्तर कोरियाले वनसान नगर नजिकै केएन–०१ नामक तीन क्षेप्यास्त्र प्रक्षेपण गरेको मन्त्रालयका एक प्रवक्ताले बताए ।

उक्त क्षेप्यास्त्रले १०० किलोमिटरसम्मको दूरीमा प्रहार गर्नसक्ने ती प्रवक्ताले बताए । आइतबार दिउँसोको ४ः३० बजे आरम्भ भएको प्रक्षेपण २६ मिनेटसम्म चलेको बताइएको छ ।

प्योङयाङले मे ९ मा एसएलबीएमको सफलतापूर्वक परीक्षण गरेको र त्यो जोगिनसक्ने र दोस्रो चरणको आक्रमण गर्नसक्ने क्षेप्यास्त्र प्रविधिमा आधारित भएको दाबी गरेको छ ।

यस्तो क्षेप्यास्त्रको विकास भएमा उत्तर कोरियाको पारमाणविक चुनौती नयाँ स्तरमा पुग्ने र त्यो कोरियाली प्रायःद्वीपभन्दा निकै पर जाने बताइएको छ ।

केही विशेषज्ञले परीक्षण प्रक्षेपणको तस्बिरको स्वरूप डिजिटल रूपमा परिवर्तन गरिएको हुनसक्ने बताउँदै यसको आधिकारिकतामै प्रश्न गरेका छन् । रासस/एएफपी