१६ वैशाख, एजेन्सी।

यद्धका घनिभुत सन्त्रासका बीच उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण गरेको छ । दक्षिण कोरयाली सेनाले योनह्याप समाचार समितिलाई यो जानकारी दिएको हो।

दक्षिण कोरियाली सेनाले मिसाइल छुटेको केही समयमै हावामा विष्फोट भएको पनि जानकारी दिएको छ।
यसैगरि समाचार एजेन्सी रोयटर्सले अमेरकी सरकारको एक सुत्रलाई हवाला दिँदै उत्तर कोरियाको पछिल्लो परिक्षण असफल भएको जानकारी दिएको छ।

दक्षिण कोरियाली सेनाले दिएको जानकारी अनुसार मिसाइल राजधानी प्योडग्योङबाट उत्तरमा रहेको प्योनग्योन प्रान्तबाट परीक्षण गरिएको थियो ।

यो मिसाइल परीक्षणको बारेमा उत्तर कोरियाले मुख खोलेको छैन् तर यसका संकेत भनेर खतरनाक देखिएको छ । अघिल्लो परीक्षण समेत सफल हुन नसकेको उत्तर कोरिया उदेश्यमा सफल नभएसम्म परीक्षण जारी राख्न दृढ देखिएको छ ।

अमेरिकी विदेश मन्त्रीले बाँकी विश्वसंग उत्तर कोरियालाई परमाणु कार्यक्रम रोक्न दबाब आह्वान गरेको केही घण्टामा उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो।

यतिखेर दक्षिण कोरियाले अमेरिकासंग मिलेर विशाल सैन्य अभ्यास गरिरहेको छ भने उत्तर कोरियाले पनि अहिलेसम्म कै भव्य सैन्य अभ्यास गरेको तस्विरहरु सार्वजनिक भए । कोरियाली प्रायद्धिप हाल युद्धको सन्त्रासमा बाँचिरहेको छ।

अमेरिकाले बुधवारमात्र दक्षिण कोरियामा आधुनिक प्रविधि मिसाइल डिफेन्स सिस्टम जडान गरेको छ । द टर्मिनल हाइ अल्टिच्युड एअर डिभेन्स सिस्टम-थाड भनिने यो मिसाइल डिफेन्स सिस्टमले छोटो तथा मध्यम दूरीका मिसाइललाई हावामै नष्ट गरिदिन सक्छ।