११ साउन,एजेन्सी।   उत्तर कोरिया र चीनबीचको सम्बन्धमा नाटकीय रुपमा परिवर्तन देखा परेको छ । दक्षिण कोरियाले अमेरिकासँग मिलेर क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली स्थापना गरेपछि रुष्ट बनेको चीन अचानक उत्तर कोरियासँग नजिकिएको हो ।

बेइजिङविरुद्ध अमेरिकी मिसाइल प्रतिरक्षा प्रणालीको योजनाबद्ध तैनाथी गरेर दक्षिण कोरियाले आपसी विश्वासमा घात गरेको चीनको ठहर छ ।

लाओसमा आसियानको क्षेत्रीय फोरम (एआरएफ) मा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण कोरियाको यस व्यवहारले दुई देशबीचको आपसी विश्वासमा क्षति पुगेको बताए । उत्तर कोरियाले हालै मिसाइल र परमाणु परीक्षण गरे पनि यसै महिनाको सुरुमा दक्षिण कोरिया र अमेरिकाले दक्षिण कोरियामा टर्मिनल हाई अल्टिट्युड एरिया डिफेन्स (थाड) प्रणाली तैनाथ गरेको घोषणा गरेका थिए ।Chinese Foreign Minister Wang Yi, left, shakes hands with his North Korean counterpart Ri Yong-ho

उत्तर कोरियाका विदेशमन्त्री तथा पूर्वपरमाणु वार्ताकार रि याङ हो र चिनियाँ विदेशमन्त्री वाङ यी बीचसमेत छलफल भएको छ । उत्तर कोरियाले चौथो परमाणु परीक्षण गरेपछि उत्तर र चीनबीचको सम्बन्धसमेत चिसिएको थियो ।

अब दुई देशबीचको सम्बन्धलाई सुधारेर अघि बढ्न दुबै नेता सहमत भएका छन् । दक्षिण कोरियाका विदेशमन्त्री युन बयुङले भने द्विपक्षीय सम्बन्धमा देखिएको चुनौती स्वीकार गरेका छन् ।

 

तर, उनले थाडको तैनाथी पूर्ण रूपमा रक्षात्मक हिसाबले गरिएको भन्दै यसले चीनको सुरक्षामा कुनै क्षति नपुग्ने दाबी गरेका छन् । उत्तर कोरियाको परमाणु कार्यक्रमले कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ ।