उत्तर कोरिया यात्रामा अमेरिकी प्रतिबन्ध! पासपोर्ट नै रद्द गरिने

७ साउन, एजेन्सी ।
संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । विदेशी ट्राभल एजेन्सी कोर्यो टूर्स र यङ्ग पायोनीयर टूर्सले जुलाइ २७ तारिखमा अमेरिकाले यात्रा प्रतिबन्धको घोषणा गर्ने र त्यसको ३० दिनपछि त्यो कार्यान्वयनमा आउने बताएका हुन् ।

सो प्रतिबन्ध लागू भएपछि उत्तर कोरियाको यात्रामा जाने अमेरिकी नागरिकको पासपोर्ट रद्द गरिने बताइएको छ । प्रतिबन्धको तयारीको अमेरिकाले अहिलेसम्म पुष्टि गरिसकेको छैन । यङ्ग पायोनीयर टूर्सका रोवान बियर्डले स्वीडेनको दूतावासले सबै अमेरिकी नागरिकलाई उत्तर कोरिया छाड्न आग्रह गरिरहेको बताएका छन् ।

सो दूतावासले अमेरिकी पर्यटकको संख्याबारे यकिन गरिरहेको उनको भनाई छ । अमेरिका र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध नभएकाले अमेरिकाका लागि स्वीडेनको दूतावासले काम गर्दै आएको छ ।

दुई मुलुकबीचको बिग्रदो सम्बन्ध र गत वर्ष उत्तर कोरियामा पक्राउ परेका एक अमेरिकी विद्यार्थीको यातनाका कारण मृत्यु भएपछि प्रतिवन्ध लगाउन लागिएको बताइएको छ ।