९ पुस, काठमाडौं ।

भनिन्छ ‘हात्ति रिसाए पनि खुसाए पनि जंगलकै सत्यानास ।’ हो, नेपालमा अहिले यस्तै देखिएको छ । हात्तिजस्ता ठूला उत्तर र दक्षिणका छिमेकीले आ–आफ्नो स्वार्थ साध्न खोज्दा नेपालीहरू आपसमै भिड्न लागेका छन् । अहिलेको राजनीतिक परिदृश्य यसैको परिणाम हो भन्ने कुरा सतहमा आउन थालेको छ ।nepal india china map 2024715

नेपालमा भारतीय स्वार्थ

चीनको वढदो व्यापारले विश्वमा पारेको प्रभाव र त्यसलाई दक्षिण एशिया हुँदै मध्यपूर्वमा विस्तार गर्ने चीनियाँ योजनाले भारत मात्र होइन अमेरिकासमेत चिन्तित बनेको छ । यसले आफ्नो उत्पादन र वजारमा पार्ने प्रभावले उनीहरू आत्तिएका छन् । नेपालजस्तो विकाशोन्मुख वा अल्पविकशित राष्ट्रलाई चिनियाँ ‍बजार विस्तारले फाइदै पुग्ने भए पनि भारतलाई टाउको दुखाई हुनु स्वभाविक छ ।

यो पढ्नुस्: राजधानी बस्नै छोडे प्रचण्ड

नेपालले चीनसंग व्यापार तथा पारवहन सम्झौता गर्नु, चिनियाँ रेल नेपालको काठमाडौं हुँदै भारतकै सीमा नजिक लुम्विनीसम्म पुर्याउने कुरामा नेपालले सहमति जनाउनु । चीनसंग सबै नाका निर्माणमा र संचालनमा चिनियाँ चासो बढ्नु भारतको ठूलो टाउको दुखाइ रहेको घाम जत्तिकै छर्लङ्ग छ । त्यति मात्र होइन सधैं आफ्नै कब्जामा रहेको नेपाल विस्तारै चिनियाँ पोल्टामा पर्न थालेको भारतलाई सह्य हुने कुरा भएन ।

त्यसैले भारत नेपालको राज्यसत्तामा आफ्नो प्रभाव र पकड बलियो बनाउन चाहन्छ । जसले गर्दा चिनियाँ पकड निष्प्रभावी होस् । नेपालमा शान्ति सुरुक्षा कमजोर भएको, असुरक्षा बढेको आदि वहाना बनाएर आफ्नो चासो व्यक्त गरिरहेको छ । नेपाल र नेपालीप्रतिको उसको माया, दया, मधेसी वा संघीयताप्रतिको उसको उदारभाव यी वहाना मात्र हुन् ।

नेपालमा चीन स्वार्थ

तिब्बत चीनको कमजोरी हो । यो चीनका लागि संवेदनलशिल क्षेत्र हो । तिब्बत विश्वका लागि सामरिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । तिब्बतका धर्मगुरु दलाई लामा भारतमा निर्वासित छन् । नेपालको तिब्बतसंग लामो सीमा जोडिएको छ । यसले गर्दा नेपालमा चिनियाँ चासो बढेको छ । विशाल भारतीय वजारमा आफ्नो उत्पादनको पहुँच पुर्याउन पनि चीनलाई नेपालजस्तो सजिलो अन्त छैन । नेपालमा बौद्ध स्तुपा र गुम्वाहरूमा दलाई लामाका पक्षधरहरूको लगानी तथा त्यहाँ उसका अनुयायीका गतिविधि चीनको टाउको दुखाई छ ।

यो पढ्नुस्: भारतसंग झेक्किंदै चीनले भन्यो ; अमेरिकाले त सोच्नु पर्छ भने भारतको के बूता

पछिल्लो समय भारतीय राष्ट्रपति भवनमा दलाई लामालाई चीनको विरोधका वावजुद् विशेष निमन्त्रणा गरिनु, नेपाल–भारत खुल्ला सीमाका कारण नेपालमा दलाई लामाको गतिविधि वढेको चिनियाँ ठहर छ । त्यसैले उसले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न आग्रह गरिसकेको छ । यसले पनि नेपालमा चिनियाँ चासो किन भन्ने प्रष्ट पार्दछ ।

दुवैको नेपालप्रति समान धारणा

भारत आफ्नो सीमा क्षेत्रमा नेपालले धेरै संघ नवनाओस् भन्ने चाहन्छ र त्यसै गरी चीन पनि आफ्नो सीमा क्षेत्रमा यस्तै धारणा राख्छ । यी दुवै नेपालमा सकेसम्म संघीयता नहोस् भन्ने चाहन्छन् । दुवैलाई नेपालको धर्म निरपेक्षताको नीति चित्त बुझेको छैन । त्यसैले पनि नेपालमा संघीयता र संविधान संशोधनका विषयमा लफडा खडा गरिएको छ ।

भारतीय धारणा बुझ्न कांग्रेस नेता अमरेशकुमार सिंहको कुरा सुन्दा हुने धेरैको बुझाई छ । हुन पनि उनी हाक्काहाक्की भारतीय संस्थापकसंग आफ्नो राम्रो सम्वन्ध रहेको स्वीकार्छन् । उनले पुष्पकमल दाहाल प्रधानमन्त्री भएको भोलिपल्टै विविसी नेपाली सेवामा दिएको एक अन्तरवार्तामा भनेका थिए ‘यो संविधानको कार्यान्वय यत्ति हो । राष्ट्रपति, उपराष्ट्रपति चुनियो, प्रधानमन्त्री निर्वाचित गरियो अब सकियो । हेर्दै जानु होला अब एक इन्च अगाडि वढ्दैन ।’ अहिले हेर्दा यस्तै देखिदैछ । छ त केवल दोष कस्को टाउकोमा हाल्ने भन्ने दाउपेच मात्र ।

अब के गर्ने ?

नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक हो । नेपाली–नेपालीले छिमेकीको कुरा बुझेर आपसमा मेलमिलाप गर्नु सबैभन्दा उत्तम उपाय हो । जसरी नेपालका प्रमुख राजनीतिक दलहरू राष्ट्रियहितका लागि मिलेर अघि बढ्दा छिमेकको विरोध र असहमतिका वावजुद संविधान जारी गरियो, त्यसरी नै यसको कार्यान्वयनका लागि मिल्नुको विकल्प छैन । सानो मुलुकले अजंगका छिमेकीलाई धारे हात लगाएर एकले अर्कोलाई दोष दिनुभन्दा आपसमा मिले सकिदो रहेछ भन्ने संविधान जारी हुनुबाट पनि देखिइसकिएको छ । नेपाली राजनीतिक दललाई बेलैमा सद्बुद्धि आओस् ।