३२ साउन, काठमाडौं ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग अन्तरराष्ट्रिय वित्त निगम (आई.एफ.सी.)का नेपाल, भुटान र बंगलादेशका कन्ट्री म्यानेजर वेन्डी वेर्नरले भेट गरेका छन् । ऊर्जामन्त्रालयमा आज भएको भेटमा मन्त्री शाहीले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आई.एफ.सी.लाई आग्रह गर्नुभएको छ ।

नेपालको ऊर्जा क्षेत्रमा गरिने लगानी नाफामूलक र सुरक्षित हुने दाबी गर्दै मन्त्री शाहीले राजनीतिक संक्रमणबाट बाहिरिँदै गरेको नेपालको मुख्य एजेण्डा अब आर्थिक विकास रहेको बताए ।

सरकारले आफ्नो ध्यान विद्युत् उत्पादन गर्ने तर्फ मोडेको बताउँदै मन्त्री शाहीले नेपालको ऊर्जा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको तर्फ ध्यानाकर्षण गराए । ‘धेरै उद्योग र पूर्वाधार परियोजना पाइपलाइनमा छन्, यातायात र सेवा क्षेत्रमा ठूलो अवसर छ । यसले ऊर्जा क्षेत्रमा लगानीको ठूलो अवसर सिर्जना गरेको छ,’ मन्त्री शाहीले भने ।

वितरण र प्रसारण लाइन विस्तार तथा स्तरोन्नतिमा पनि लगानीको अवसर रहेको उनको भनाई थियो । उनले नेपालले सन् २०२५ सम्म १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको जानकारी गराउँदै यो लक्ष्य पूरा गर्न वैदेशिक र निजी क्षेत्रको लगानी महत्वपूर्ण हुने समेत बताए ।

‘वैदेशिक लगानीप्रति हामीले उदार नीति लिएका छौं । लद्यु जलविद्युत् र सौर्य ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्न नेपालले नवीकरणीय ऊर्जा अनुदान नीति कार्यान्वयनमा ल्याएको छ,’ मन्त्री शाहीले भने, ‘ऊर्जा क्षेत्रमा लगानीकर्तालाई कर छुट, सहुलियत छुट, अन्तःशुल्क फिर्ता र शतप्रतिशत नाफा फिर्ता लैजान पाउनेलगायत सुविधा व्यवस्था गरेका छौं ।’

नेपालको श्रम नीति बजारमैत्री भएको दाबीसमेत मन्त्री शाहीले गरे । नेपालको श्रमिक अन्यको तुलनामा सस्तो समेत भएको बताउँदै उनले औद्योगिकमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

भेटमा आईएफसीका नेपाल ,भुटान र बंगलादेशका कन्ट्री म्यानेजर वेन्डी वेर्नरले आफुहरु ऊर्जामा लगानी गर्न इच्छुक रहेको बताउँदै माथिल्लो त्रिशुली १ को पिपिए गर्न पहल गरिदिन मन्त्री शाहीलाई आग्रह गरे । उहाँले आईएफसीले मुख्यतः नीजि क्षेत्रमा लगानी गरिरहेको भन्दै सरकारले लगानी गर्ने अबसर दिएमा आफूहरु लगानी गर्न तयार हुने प्रष्ट पारे ।