१२ पुस, काठमाडौं । अहिलेसम्म कुनै विवादमा नतानिएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई एउटा संस्थाले विवादमा तान्ने प्रयत्न गरेको पाइएको छ ।

ओलीले भने, अब हामी चुनाव गराउँछौं

मानवअधिकार तथा शान्ति समाज नामक संस्थाले राष्ट्रपतिलाई मर्यादाको पाठ पढाएको छ । संस्थाका अध्यक्ष गंगाधर अधिकारीले राष्ट्रपति भण्डारीले विभिन्न १० बुँदे सुझाव सहितको पत्र हिजो दिएको हो । यो पत्र संस्थाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोधार्थ दिएको छ । (हेर्नुस् पत्रको व्यहोरा)

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू,

राष्ट्रपति कार्यालय

शीतल निवास, काठमाण्डौँ, नेपाल

विषयः राष्ट्रपति पदको मर्यादा र गरिमा उचो राख्नेबारे ध्यानाकर्षण

सम्माननीय राष्ट्रपतिज्यू,

२०६२/६३ को जन आन्दोलनको पृष्ठभुमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपुर्ण योगदान गरेको, मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि अनवरत रुपमा क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजका तर्फबाट निम्न विषयहरुमा सम्माननीय राष्ट्रपतिज्युको ध्यानाकर्षण गराउँछु ।

१. नेपाली जनताले गरेको अभुतपुर्व अहिंसात्मक जनआन्दोलनको वलमा स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको अत्यन्तै सम्मानित र सर्वोच्च राष्ट्रपति पदको मर्यादा र गरिमा सदासर्वदा उचो रहनुपर्दछ ।

२. राष्ट्रपतिज्यूको भुमिका सदैव संविधानले निर्दिष्ट गरेको सीमाभित्रै रहनु पर्दछ ।

३. आलंकारीक राष्ट्रपतिको रुपमा संविधानद्धारा निर्दिष्ट राष्ट्रपतिको भूमिका र राष्ट्रपति कार्यालयको कार्यशैली कहिल्यै पनि विवादास्पद बन्नु हुदैँन ।

४. राष्ट्रपतिलाई संम्बोधन गरी ध्यानाकर्षण गराइने विभिन्न विषयहरु सरकारका सम्बन्धित मन्त्रालयहरुलाई नै सम्प्रेषण गरी सरकारमार्फत नै संवोधन गर्ने गराउने परिपाटी अवलम्बन गर्नुपर्दछ ।

५. राष्ट्रपतिको भ्रमणका क्रममा सरकारका तर्फबाट एकजना मन्त्रीको उपस्थिति सदैव सुनिश्चित हुनुपर्दछ ।

६. कार्यपालिकालगायत विभिन्न निकायको क्षेत्राधिकारभित्र दखल/दबाब दिने कार्यमा सम्मानीत राष्ट्रपतिको कार्यालय संलग्न हुनु हुदैँन ।

७. विभिन्न समयमा उत्पन्न हुने राजनीतिक जटिलताको अवस्थामा सम्मानीत राष्ट्रपति पद विवादमा मुछिनु हुदैँन । राष्ट्रपति पदको तटस्थता र निष्पक्षता सदैव कायम रहनुपर्दछ ।

८. कुनै पनि राजनीतिक दल/निकाय/समुहले सम्मानीत राष्ट्रपतिको पद र भूमिकालाई आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्ने र विवादमा तान्ने काम गर्नु हुदैँन भने सम्माननीय राष्ट्रपतिज्यूले पनि दल/निकाय/समुह विशेषको प्रभावमा परेर विवादास्पद कार्य गर्नु हुदैँन ।

९.लोकतान्त्रिक सत्ताले मानव अधिकार उल्लंघनकर्तालाई कदापि पुरस्कृत गर्न नहुने तथ्य शान्ति समाजले सदासर्वदा सम्बन्धित निकायहरुलाई स्मरण गराउदैँ भविष्यमा मानव अधिकार उल्लंघनका घटनामा दोषी कसैलाई पनि कुनै पनि संवैधानिक वा अन्य पदमा नियुक्त गर्नु हुदैँन भनी अभियान सञ्चालन गदै आएको छ । मानव अधिकार उल्लंघनकर्ता र २०६२/६३ को जन आन्दोलन दमन गर्ने दोषी पात्रहरुलाई प्रोत्साहित गर्ने कार्यमा विगतमा जस्तो नेपालको राष्ट्रपति संस्था मुछिनु हुदैँन ।

१०. नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ नेपाली जनता, राजनीतिक दलहरु र नागरिक आन्दोलनले गरेको महत्वपुर्ण योगदान इतिहासमा अंकित छ । राष्ट्रपति पदमा विराजमान कुनै पनि व्यक्तिले लोकतान्त्रिक गणतन्त्रको मुल्य र मान्यतालाई सदैव उचो राखी आफ्नो भुमिकालाई मर्यादित र सम्मानित बनाइराख्नुपर्छ भन्ने आग्रह लोकतान्त्रिक गणतन्त्रका लागि योगदान गरेको संस्थाको नाताले शान्ति समाजका तर्फबाट सम्माननीय राष्ट्रपतिज्यूलाई पुनः स्मरण गराउँछौँ ।