१३ मंसरि, काठमाडौँ।

नयाँ संविधानमा समावेशी सहभागितामूलक प्रतिनिधित्वको कुरा चले पनि गँगबुँ आवास क्षेत्रमा रहेको कार्यविनायक मन्दिर परिसरमा धेरै पहिलेदेखि नै हिन्दू र बौद्ध धर्माबलम्बीले सहभागितामूलक तरिकाले पूजाआजा गर्दै आएका छन् ।

buddhist and hindu

गँगबुँ आवास क्षेत्रको एक रोपनी आठ आना क्षेत्रफलमा विसं २०५६ मा निर्माण भएको उक्त मन्दिर परिसरमा हिन्दूको देवता गणेश मन्दिर र बुद्धको गुम्बा स्थापना गरिएको छ । स्थानीय समाजसेवी महेश्वरकुमार श्रेष्ठको अगुवाइमा स्थापना भएको मन्दिरमा हिन्दू धर्मका गणेश, शिव, पार्वती, सरस्वती, लक्ष्मी, हरिमाता, महाङ्काल, राम, सीता, लक्ष्मण, हनुमानलगायतको प्रतिमा स्थापना गरिएको छ । यस्तै नारायणस्थानमा रहेको बुढानीलकण्ठ भगवान्को प्रतिमा समेत त्यहाँ स्थापना गरिएको छ ।

यस्तै सोही मन्दिर परिसरमै ‘पल्थेक छोक उइक्यान छोइकी घचल’ नामक गुम्बा रहेको छ । सो गुम्बामा गौतम बुद्धको प्रतिमा, उनका विभिन्न रुप (मञ्जुश्री, महाकाल, गुरु पद्य, लोकेश्वर) र माने राखिएका छन् । सो मन्दिर व्यवस्थापन समितिले छुट्टाछुट्टै धर्मको पूजाका लागि छुट्टाछुट्टै पुजारी तोकेको छ । हिन्दू धर्माबलम्बीको पूजाआजाका लागि आचार्य तुलसीराम पोखरेल र बौद्ध गुम्बाको पुजारीका लागि बुद्ध लोप्साङलाई राखिएको छ ।

धार्मिक गुरुहरुले आफ्नो धर्मअनुसार पूजापाठ गराउँदै आउनुभएको छ । पोखरेलले निरन्तर १४ वर्षदेखि र लोप्साङले १० वर्ष सो मन्दिरमा पूजा गर्दे आएका छन् । उक्त मन्दिरमा दैनिक दुई सय भक्तजनले दर्शन गर्ने गरेको मन्दिरका मुल पूजारी पोखरेल बताए । उक्त मन्दिरमा उठेको चन्दाबाट त्यहाँको सरसफाइ, मर्मतसम्भार गर्दै आएको उनले जानकारी दिए । यस्तै गुम्बामा उठेको रकम गुम्बाको मर्मतसम्भार र नित्य पूजामा खर्च गरिएको लोप्साङ बताए ।

सो मन्दिरमा हरेक वर्षको माघ महिनामा हिन्दू देवता गणेशको रथयात्रा गर्ने गरिएको छ । गणेशको रथयात्राका दिनमा गँगबुँ आवास क्षेत्रभर गणेशको मूर्ति लिएर परिक्रमा गर्ने र मन्दिरमा ल्याउने प्रचलन छ । सो दिनमा गँगबुँ आवास क्षेत्रका सबै घरपरिवारले गणेशको पूजा गर्ने गर्छन् ।