३० जेठ, वीरगन्ज । मधेसको हक अधिकार माग्दै आन्दोलन गरिरहेका सहयात्री मधेसी दल दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिएर अहिले एकअर्काविरुद्ध प्रदर्शन र आक्रमणमा उत्रिएका छन् ।मधेस आन्दोलनमा बन्दुकको गोलीको जवाफ मतपत्रबाट दिने भन्दै फोरम नेपालले स्थानीय तहको निर्वाचनमा भाग लिएपछि ऊविरुद्ध राष्ट्रिय जनता पार्टी नेपालले पर्सा र बारामा एक सातायता प्रदर्शन गर्दै आएको छ ।

मधेस आन्दोलनलाई धोका दिएर चुनावमा भाग लिएको भन्दै फोरम नेपालविरुद्ध राजपाले प्रदर्शन गरेको हो । पर्साको बहुदरामाई गाउँपालिका ६ भौराटारमा सोमबार राजपा नेता-कार्यकर्ताले फोरम नेपालको विरोधमा प्रदर्शन गरेको छ । राजपा नेता-कार्यकर्ताले भौराटारमा मंगलबार फोरम नेपालले गर्ने बृहत् आमसभा बिथोल्न सोमबार प्रदर्शन गरेका हुन् ।

उनीहरूले भौराटारमा मंगलबार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको तयारीका लागि गाडिएका टेन्टका बाँस उखेलेर फ्याँक्नुका साथै टायर बालेर फोरमविरुद्ध नाराबाजी पनि गरेका थिए ।

अहिले जारी मधेस आन्दोलन मधेसीका माग सम्बोधन नगरी जबर्जस्ती गराउन लागेको स्थानीय तहको चुनाव मधेसीको भावनाविपरीत भए पनि विगतको मधेस आन्दोलनमा सँगै आन्दोलन गरेका फोरम नेपालले अहिलेको आन्दोलनमा सहयोग गर्नुको साटो मधेसविरोधी चुनावमा भाग लिन थालेकाले उपेन्द्र यादव मधेसविरोधी नेता भएको ठहर गर्दै फोरम नेपालको मंगलबार हुन लागेको कार्यक्रम बिथोल्न प्रदर्शन गरेको राजपाका महासचिव शिव पटेलले बताउनुभयो ।उहाँले भौराटारमा मंगलबार फोरम नेपालले गर्ने आमसभामा सहभागी नहुन स्थानीयसँग अपिल पनि गरिएको बताउनुभयो ।

‘कथंकदाचित फोरम नेपालले आमसभा गरिहाल्यो भने त्यसको परिणाम भयावह हुन्छ’, पटेलले भन्नुभयो, ‘फोरम नेपालका अध्यक्ष यादवलाई प्रहार गर्न एक बोरा पुराना जुत्ताचप्पल तयर पारेर राखिसकेका छौं ।’ सोमबारको प्रदर्शनमा राजपाका महासचिव पटेलका साथै नेता देवानन्द यादव, विपिन यादवलगायत सहभागी हुनुहुन्थ्यो ।यसअघि शनिबार बेलुकी बाराको परसौनीमा फोरम नेपालले आयोजना गरेको चुनावीसभा पनि राजपा कार्यकर्ताले बिथोलेका थिए ।परसौनीमा शनिबार बेलुकी आयोजित चुनावी सभामा फोरम नेपालका नेताले मन्तव्य दिइरहेका बेला राजपा कार्यकर्ताले ब्यानर च्यात्नुका साथै माइक तोडफोड गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।