११ साउन, काठमाडौं । वैकल्पिक धारको राजनीतिक शक्ति निर्माणमा रहेको दुई राजनीतिक दल विवेकशील नेपाली दल र साझा पार्टीबीच आज बुधबार एकीकरण हुँदैछन्। दुवै दलका वार्ता टोलीबीच भएको सहमतिअनुसार बुधबार अपराह्न राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी एकीकरणको घोषणा हुनेछ।

‘भोलि (बुधबार) पार्टीको घोषणा गर्ने सहमति भएको छ तर अहिले पनि धेरै विषयमा छलफल भइरहेको छ र भोलिसम्म एउटा स्पष्ट खाकासाथ आउनेछौं,’ विवेकशील नेपाली दलका प्रवक्ता तथा वार्ताटोलीका प्रमुख रमेश पौडेलले भने, ‘सामूहिक नेतृत्वमा एकीकृत पार्टी सञ्चालन हुनेछ।’ त्यसका लागि दुवै दलका हालका अध्यक्षहरु उज्ज्वल थापा र रवीन्द्र मिश्रसहित ६ देखि ८ सदस्यीय समिति गठन गर्ने सहमति भएको छ। आजको नागरिकमा खबर छ ।

दुवै दलको नाममा विवेकशील र साझा नाम आउनेछ। सहमतिअनुसार एकीकृत पार्टीको नाम ‘साझा विवेकशील’ भए अहिले विवेकशीलले प्रयोग गर्ने आएको ‘हाँसिरहेको व्यक्तिका मुखकृति’ पार्टीको चिह्न हुनेछ भने ‘विवेकशील साझा’ नाम राखिएमा साझा पार्टीको तराजु चुनाव चिह्न हुनेछ।

दुवै पक्षबीच ५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने सहमति भएको छ। विवेकशील र साझाबाट १७–१७ रहेनछन् भने बाँकी १७ सदस्यीय मनोनीत गर्ने सहमति भएको छ । हाल विवेकशीलको ३५ र साझाको २२ सदस्यीय केन्द्रीय कार्यसमिति छ ।

प्रदेशका संयोजकहरूको घोषणा पनि बुधबार नै हुनेछ । वार्तामा साझाका तर्फबाट सूर्यराज आचार्य र मुमाराम खनाल, विवेकशीलका तर्फबाट पौडेलका अतिरिक्त गोविन्दनारायण तिमल्सिना थिए ।

पहिलो चरणको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकामा दुवै दलले राम्रो प्रदर्शन गरेका दुवै दललाई एकीकृत गर्न दबाब पर्दै आएको थियो । तर दोस्रो चरणको स्थानीय चुनावमा भने उल्लेख प्रदर्शन गर्न सकेन।