२९ असाेज, काठमाडाैं । गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका छन् ।

सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएको जानकारी दिए । मङ्गलबार साँझदेखि आज अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कूल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । विद्युतीय मेसिनबाट हुने निर्वाचनमा मतदान भएको एक घण्टामा नै मतपरिणाम सार्वजनिक गर्ने उनले बताए । निर्वाचनमा करीब दुई हजार ४०० मतदाता सहभागी हुनेछन् । उनका अनुसार सङ्घको नयाँ नेतृत्व दुई वर्षका लागि निर्वाचित हुने गर्दछ ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । बिहीबारसम्म तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्नेछन् । रासस