baburam bhattrai१ जेठ, बुटवल । पूर्व प्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधान बनाउन आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत आवश्यक भएको बताएका छन् ।

अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस एकाई समितिले आज आयोजना गरेको स्ववियु चुनावी सभामा बोल्दै डा. भट्टराईले पुराना संसदवादी पार्टीले पुरानै व्यवस्था कायम गर्न खोजेकाले संविधानसभाबाट संविधान बन्न नसकेको बताएका छन् । उनले अग्रगामी शक्ति एमाओवादीले संविधानसभा निर्वाचनमा जिते संविधान बन्ने तर, एमाओवादी बेगर अरू कुनै शक्तिले संविधान लेख्न नसक्ने जिकिर गरे ।

उनले एमाओवादी लोकतन्त्र, आर्थिक विकास तथा समृद्वि र राष्ट्रियताको मुद्दालाई प्रमुख एजेण्डा बनाएर संविधानसभा निर्वाचनमा जाने बताए ।

भट्टराईले सबैले भरोसालाई केन्द्रविन्दुमा राखेको एमाओवादीले सबैको चाहना र आकांक्षालाई पूरा गरी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने दाबी गरेका छन् ।

उपाध्यक्ष डा. भट्टराईले नेपाल र चीनलाई पुलको रूपमा विकास गरेर मुलुकको आर्थिक विकास गर्नुपर्ने बताएका छन् । उनले अबको युवा पुस्ताले राजनीतिको बिंडो थाम्नुपर्ने बताउँदै यसो नभए देश ठूलो सङ्कटमा पर्न सक्ने बताए ।