३० भदौ, काठमाडौं । दोस्रो चरण निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदमा काँग्रेश माओवादी केन्द्रको गठबन्धनबाट पराजित एमाले नेता देवी ज्ञावाली आज विहान बाराको निजगढ नगरपालिका आइपुग्दा नेकपा एमाले कार्यकर्ता र शुभचिन्तकको घेरामा परे ।

चारैतर्फबाट घेरा हालेका युवा कार्यकर्तासंग सेल्फी खिच्न, हात मिलाउन र नमस्कार गर्न ज्ञावालीलाई भ्याइनभ्याइ थियो । नेकपा एमालेका उम्मेदवारेको पक्षमा मत माग्न बोलाइएका ज्ञवाली यतिबेला एमाले कार्यकर्ता र मतदाताबीच लोकप्रिय बनेका छन् ।

भरतपुरको निर्वाचनमा पराजित बनेपछि बाहिरका कार्यकर्ता र सर्वसाधारणमा समेत चर्चा बढेको र कहिले पनि देखभेट नभएकाहरु पनि नाम सुनेकै भरमा सेल्फी खिचाउन अनुरोध गर्दै नजिक आउने ज्ञावालीले बताए । भेट भएका मध्ये धेरैले षडयन्त्रपूर्वक पराजित गरिएको भन्दै आफूलाई सहानुभुति दिने गरेको पनि ज्ञावालीले बताए ।

आगामी असोज २ गते हुने बाराको निजगढ नगरपालिकामा पनि काँग्रेश र माओवादी केन्द्रले एमालेविरुद्ध संयुक्त उम्मेदवार खडा गरेपछि चुनाव प्रचारको लागि पार्टीका स्थानीय नेता कार्यकर्ताले ज्ञावालीलाई निजगढ झिकाएका हुन् । गठबन्धन पक्षधरबाट हुन सक्ने दुष्प्रचार र षडयन्त्र चिर्न ज्ञवालीको अनुभव र कार्यकर्ताको माग अनुसार ज्ञवालीलाई बोलाइएको हो ।

एमालेको चुनाव प्रचारमा उपयोगी ज्ञवालीले पार्टी उम्मेदवारको पक्षमा प्रचार गर्न समय मिलाएर जिल्लाको जितपुरसिमरा उपमहानगर, कोल्हवी नगरपालिका, रौतहटको चन्द्रनगर नगरपालिका र पर्सा जिल्लाको पर्सागढी गाउँपालिकामा समेत पुगेका छन ।

जिल्लाका दुई दर्जन भन्दा बढी साना ठूला सभालाई संवोधन गरिसका ज्ञावालीले अध्यक्ष केपी शर्मा ओली सहभागी बन्ने जितपुर सिमरामा एमालेको चुनावी सभामा आज पनि सम्बोधन गर्ने छन् । निजगढमा ज्ञावालीको सुुसुरालीको नाता पनि जोडिएको छ ।

एमाले कार्यकर्ता एंव गाविसका पुर्व अध्यक्ष नन्दीकिशोर न्यौपानेकी छोरी विमलासंग उनले ०४५ सालमा विवाह गरेपछि निजगढमा ज्ञवालीको पारिवारिक नाता जोडिएको हो । तत्कालिन नेकपा मालेमा लागेर भुमिगत बसेर पार्टी काम गरेको नाताले पनि ज्ञावाली यसअघिका निर्वाचनमा पनि एमाले उम्मेदवारको चुनाव प्रचार गर्न निजगढ पुग्ने गरेका थिए ।

नेकपा एमालेको राम्रो पकड मानिएको निजगढमा गठन्धनको तर्फबाट नेपाली काँग्रेशका सुरेश खनाल र उपमेयरमा माओवादी केन्द्रकी बेनी मोक्तान चुनावी मैदानमा छन् भने नेकपा एमालेले भने नारायण खडका र लिला खनाललाई गठबन्धन विरुद्ध मैदानमा उतारेको छ । काँग्रेश माओवादी केन्द्रले मयेर उपमेयर सहित वडा नं. ५ र ६ मा समेत आपसी तालमेलमा उम्मेदवार खडा गरेका छन् ।