१३ चैत, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छानौट प्रक्रिया शुरु गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको स्थाई कमिटि बैठकले सबै ७४४ स्थानीय तह तथा वडामा सम्भावित उम्मेदवारको सूची तयार गर्ने गृहकार्य थालेको हो ।

एमालेले महानगरपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य पदका लागि सम्भावित उम्मेदवारको सूची बनाउन सम्बन्धित कमिटीहरुलाई जिम्मा दिएको छ ।

काठमाडौं, ललितपुर, भरतपुर र पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखदेखि अन्य पदका लागि सम्भावित उम्मेदवारको सूची बनाउँदा एक पदका लागि तीन जनाको सूची बनाइने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यसरी नाम पठाउँदा वरियताक्रम अनुसार नभइ नामको वर्णानुक्रम अनुसार पठाउनुपर्नेछ । एमालेले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको लागि उम्मेदवार छान्दा पनि यही पद्दति अपनाउने जनाएको छ ।

महानगरपालिकाको हकमा सम्भावित उम्मेदवारहरुको सूची सम्बन्धित पार्टी कमिटीले केन्द्रीय कमिटी तथा केन्द्रीय कमिटीले स्थायी कमिटीमा पठाउने छन् ।