२७ वैशाख, काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपा एमालेले अहिलेको स्थानीय तहको चुनाव मात्र नभई यसपछि हुने प्रदेश र केन्द्रको चुनाव पनि प्रतिपक्षमै बसेर लड्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस केन्द्रीय चुनाव प्रचार प्रसार समन्वय उपसमितिले गरेको पत्रकार सम्मेलनमा नेता थापाले यस्ता बताएका हुन् । ‘सरकार बनाउन अंक गणित पनि मिल्नु पर्छ’ दोस्रो चरणको चुनाव एमालेको नेतृत्वको सरकारले गराउने भनेर चलाइएको हल्ला एकदमै निराधार भएको बताए ।

थापाले भने, ‘भर्खरै नेपाल लोकतान्त्रिक फोरम सरकारमा आएको छ, अब वर्तमान गठबन्धन संविधानको पूर्ण कार्यान्वयन गराउँदासम्म जारी रहन्छ ।’ कांग्रेस केन्द्रीय चुनाव प्रचार प्रसार समन्वय उपसमितिका उपसंयोजक समेत रहेका थापाले स्थानीय तहको प्रथम चरणको चुनावपछि यही गठबन्धन अन्तरगत कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्पष्ट पारे ।

उनले झण्डै दुई तिहाईको निकट रहेको वर्तमान गठबन्धनको विकल्प तत्काल नदेखिएको पनि दावी गरे । ‘पहिलो चरणको निर्वाचन पछि नयाँ सरकार बन्छ, संविधान संशोधन गरिन्छ र दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई पनि सहभागी गराइन्छ ।’