२३ असोज, भक्तपुर । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि एमाले जिल्ला कमिटी भक्तपुरले २८ जनाको नाम सिफारिस गरेको छ । जिल्लाको दुईवटा निर्वाचन क्षेत्र र चारवटा प्रदेशमा प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नामावलीमा प्रदेशमार्फत केन्द्रीय समितिमा सिफारिस गरेको हो ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ केदार अधिकारी, नारायणभक्त बाटी र मन्दरा मिश्रको नाम सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्र नं १ को प्रदेश नं १ मा प्रत्यक्षतर्फ नगर कमिटीले सर्वसम्मत हरिशरण लामिछानेको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीमा भने मोहनवीर श्रेष्ठ र रामबहादुर थापाको नाम थप गरेर पठाउने तयारी गरे पनि विवाद बढेपछि लामिछानेको नाम मात्रै पठाएको जिल्ला कमिटीले जानकारी दिएको छ ।

यस प्रदेशमा समानुपातिकतर्फ शिवराम तिमिल्सिना, केदार अधिकारी, राजु सुवेदी, विष्णु तामाङ, सावित्री थापाको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नं १ प्रदेश क्षेत्र नं २ मा भने प्रत्यक्षतर्फ रोमन शिलाकार र समानुपातिकतर्फ माइलाबाबु देउला, मदन द्यौला, सरस्वती बाटी र रञ्जु नापितको नाम सिफारिस गरेको छ ।

नाम सिफारिस गर्ने क्रममा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ पूर्व उद्योगमन्त्री महेश बस्नेतको नाम सर्वसम्मतरुपमा नगर तथा क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । जिल्ला कमिटीमा सर्वसम्मत आएको बस्नेतको नाममा राजेन्द्रमान श्रेष्ठको नाम थपेर पठाउन खोजिएपछि विवाद सिर्जना भएको हो ।

तेत्तीस जनाको एमाले जिल्ला कमिटी बैठकमा ३१ जनाले विनाशकारी भूकम्पका बेलामा जनताका घर–घरमा पुगेर नगद तथा जस्ता वितरण गर्ने, टहरा वितरण गर्ने, सडक निर्माणदेखि खानेपानी र अन्य विकासका योजना ल्याउन बस्नेतले महत्वपूर्ण योगदान पु-याएको भन्दै बस्नेतको विकल्प नरहेकाले सर्वसम्मतरुपमा बस्नेत उम्मेदवार हुनुपर्ने बताएको बैठकमा सहभागी जिल्ला कमिटी पदाधिकारीले जानकारी दिएका छन् ।

बैठकमा सहभागीमध्ये दुईजनाले राजेन्द्रमान श्रेष्ठको पनि सिफारिस गर्नु पर्ने माग गरे पनि बहुमतले बस्नेतको नाम सिफारिस गरेकाले बस्नेत सर्वसम्मत उम्मेदवार रहेको पदाधिकारीले जानकारी दिएका छन् । समानुपातिकतर्फ भने निर्मल भट्टराई, गणेशबहादुर खत्री र मालती पौडेलको नाम सिफारिस भएको छ ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश नं १ मा भने प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्र राजथला र शशिजंग थापाको नाममा विवाद चर्किएको छ । पटक–पटक अवसरबाट वञ्चित गरिएका, जनतामाझ चर्चित रहेका थापालाई सर्वसम्मतरुपमा नाम सिफारिस गर्नुपर्ने बहुमतपक्षले जिल्ला कमिटी बैठकमा आवाज उठाएको बैठकमा सहभागी पदाधिकारीले जानकारी दिएका छन् ।

पार्टी सभापति राजथलालाई सर्वसम्मत नाम सिफारिस गर्नुपर्नेमा दुईजनाले माग गरेपछि श्यामसुन्दर बस्नेत, रजन केसी र गोविन्द चौलागार्इंले आफूहरु पनि उम्मेदवारको आकांक्षी भएको भन्दै एकलौटी नाम सिफारिस नगर्न दबाब दिए पनि राजथला र थापाको मात्रै नाम सिफारिस भएको छ ।

प्रदेश समानुपातिकतर्फ भने धु्रवराज विष्ट, सरिता तिमिल्सिना भट्टराई, चित्रबहादुर अछामी, मालती विष्टको नाम सिफारिस भएको कार्यालयले जानकारी दिएको छ ।

यता प्रदेश नं २ मा प्रत्यक्षतर्फ पार्टी उपाध्यक्ष बचन देउजाको नाम सर्वसम्मतरुपमा सिफारिस भएको छ भने समानुपातिकतर्फ गीता अञ्जान (केसी), चन्दनकृष्ण श्रेष्ठ, भवानी खड्का, दीपेन्द्र थापा र सुशीला सुवेदीको नाम सिफारिस गरिएको छ । विवादित नामका सन्दर्भमा जस्ताको तस्तै प्रदेश कमिटीमा नाम सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले जानकारी दिए । रासस