१६ साउन, काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठक सकिएको छ । बैठकले सर्वाेच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएपछि परेको मुद्दामा पुनः मतदान गर्ने फैसलाका बारेमा विशेष प्रस्ताव पारित गरेको छ ।

बैठकले सर्वोच्चको फैसलालाई दुखद भनेको छ । बैठकले महानगर प्रमुख पदमा पार्टीका उमेदेबार देबी ज्ञवालीलाई जिताउन सबैमा अपिल गर्दै जनताले अभिमतको रक्षा गर्ने विश्वास लिएको बैठकपछि सचिव योगेश भट्टराइले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ । यसबाट जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, यसलाई गम्भीर रुपमा लिई भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ ।