कुशल श्रेष्ठ

ब्रह्माण्डको अन्य ठाउँमा जीवनको स्वरूप कस्तो हुनेथ्यो भन्ने बारेको खोजबाट निराशाजनक सम्भावना देखा परेको छ। नयाँ खोज भन्छ, एलियन मरिसके त्यसैले मौन छन्।

संसार सृष्टिको पहिलो अर्व वर्षहरूको बारेमा हामीलाई थाहा भएका तथ्यहरूमा यो परिकल्पना आधारित छ- कुनै नयाँ ग्रहको सृष्टि भएपछि, त्यहाँको वातावरण एकदमै अस्थिर हुने गर्दछ, तापक्रममा अनियन्त्रित घटबढ अनि भीषण वायुमण्डलको कारणले गर्दा त्यस ग्रहमा छिट्टै नै नयाँ जीवनको सृजना हुन गाह्रो पर्दछ।

Alien died“यो ब्रह्माण्डमा जीवनका आधार भएका ग्रहहरू थुप्रै छन्,  एलियन पनि थुप्रैमा छन् भन्ने वैज्ञानिकहरु विश्वास गर्छन्।”, अस्ट्रेलियन नेशनल युनिभर्सिटीका मूख्य अनुसन्धानकर्ता आदित्य चोपराले भने- “जुनै पनि ग्रहको सुरुका जीवन संवेदनशील हुन्छ। बाँच्नको लागि त्यहाँको वातावरणसँग घुलमिल हुन गाह्रो पर्दछ।”

चोपरा र उनका समूहले शुक्र र मङ्गल ग्रहको वातावरणको उदाहरण दिएका थिए, करीब ४ अर्व वर्ष अगाडि यी ग्रहहरूको सृष्टि भयो, र त्यसको अर्व वर्षपछि त्यहाँ जीवन हुन सक्ने सम्भावना पनि रहेको थियो। तर शुक्र ग्रह निकै तातो अनि मंगलमा अस्थिर वायुमण्डलका कारण जीवन फेला परेन।

त्यसो भए, पृथ्वीमा चाहिँ त्यस्तो खास के छ त? अनुसन्धानकर्ता दाबी गर्छन् अनियन्त्रित उतारचढाव भैरहने वातावरणमा पनि पृथ्वीका प्रारम्भिक जीवनको रूपसँग स्थिर हुनसक्ने खुबी थियो, त्यसैले गर्दा नै पृथ्वीमा जीवनको अस्तित्व सम्भव भएको हो। “अधिकांश ग्रहको प्रारम्भिक वातावरण अस्थिर हुन्छ।”, चोपरा भन्छन्- “स्थिर गराउनको लागि जीवनको रूपले पानी र कार्बनडाइअक्साइड जस्ता हरीतगृह ग्यासहरूलाई सन्तुलित गर्नुपर्ने हुन्छ, ताकि सतहको तापक्रम स्थिर होस्।”

वातावरणसँग चाँडै नै घुलमिल हुन सक्दैन भने, त्यो जीवनको रूप मरेर जान्छ। अनि शुक्र र मङ्गल ग्रहको कुरा गर्ने हो भने त्यहाँ पनि यस्तै भएको हुन सक्छ। बदलिँदो वातावरणसँग त्यहाँका जीवनको रूप घुलमिल हुन सकेन र त्यसको अस्तित्व हराएर गयो।

“पृथ्वीमा, यहाँका प्रारम्भिक जीवनको रूप एककोषीय प्राणी थिए। वातावरणको फेरबदलसँगै यी एककोषीय प्राणीहरू बहुकोषीय प्राणीमा विकसित भए र पछि जटिल किसिमको जीवनको रूपमा विकसित भए। यसरी जीवनको रूप बदलिँदो वातावरणसँगै विकसित हुँदा यिनीहरूले आफ्नो लागि उपयुक्त वातावरणको सृजना पनि आफैले गर्न थाले। पृथ्वीलाई स्थिर बनाइराख्न चाहिने हरीतगृह ग्यासको निर्माण पनि हुन थाल्यो र अन्ततः यहाँ जीवनको विकास हुन सफल भयो।”, अनुसन्धानकर्ताहरूले भने।

यदि यो परिकल्पना प्रमाणित भयो भने, यसले ‘फर्मी प्याराडक्स’ (Fermi Paradox) ले सृजना गरेको प्रश्नको उत्तर प्रदान गर्दछः यदि यो ब्रह्माण्ड अतिविशाल अन्तरीक्ष हो जसमा जीवनको रूप हुन सक्ने ग्रहहरू खरबौँ हुन सक्छन् भने, अझसम्म हामीले एलियनहरू किन फेला पारेनौँ त?

“हामीले अझसम्म एलियन जीवन किन फेला पारेका छैनौँ भन्ने कुरा उनीहरूको सृष्टि अथवा बुद्धिसँग कुनै भर पर्दैन, बरु त्यो ग्रहको वातावरणसँग उनीहरू घुलमिल हुन सके कि सकेनन् भन्ने कुरामा मात्रै भर पर्दछ।”, समूहका खगोलविज्ञ ‘चार्ल्स लाइनविभर’ले भने। अनुसन्धानकर्ताहरूले अरू वैज्ञानिकहरूलाई पनि यसको बारेमा थप अनुसन्धान गर्न सुझाव दिएका छन्। “यदि हाम्रो परिकल्पनाले भनेको कुरा र खरबौँ वर्षअगाडिको वास्तविकता मेल खायो भने, हामीले एलियन जीवनको बारेमा बुझ्ने र उनीहरूलाई भेट्ने मौका गुमाउनेछौँ। तर, यो सोँच्दा खुसी लाग्छ कि पृथ्वीमा हामी बाँच्न सफल भयौँ।”, रिपोर्टमा लेखिएको छ।

यो अनुसन्धानको रिपोर्ट अस्ट्रेलियाको ‘एस्ट्रोबायोलोजी’ खबरपत्रिकामा प्रकाशित भएको छ।

यो पनि हेर्नुहोस्-
८०० वर्ष पुरानो मोबाइल भेटियोः एलियनले छोडेको दावी (भिडियो सहित)
रहस्यमय रेडियो संकेत आयो, एलियन हुनसक्ने भन्दै खोजीकार्य जारी
पृथ्वीभन्दा बाहिर जीवन फेला परे पृथ्वीमा कस्तो प्रभाव पर्न सक्छ?