२२ मंसिर, रत्ननगर (चितवन)।

विदेशमा एसएमएस खुत्रुके कार्यक्रम सञ्चालन गरी सङ्कलित रकम यहाँको एक विद्यालयलाई सहयोग गरिएको छ ।

पूर्वी चितवनको कालिका नगरपालिकास्थित साविक पदमपुर–८ मा रहेको सुकुम्बासी परिवारका बालबालिका पढ्ने विद्यालयलाई प्रवासी नेपालीले सहयोग गरेका हुन् ।

विद्यालयको शैक्षिकस्तर वृद्धिका लागि तामाङ समाज युएईले रु एक लाख ११ हजार सहयोग गरेको नेपाल तामाङ घेदुङ चितवनका अध्यक्ष गोपीराज घलानले जानकारी दिए।

उक्त रकम तामाङ समाज युएईले एसएमएस खुत्रुकेबाट सङ्कलन गरेको जनाएका छन् । यसअघि पनि विभिन्न क्षेत्रमा यसरी नै सहयोग गरेको तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले बताए ।

आर्थिक अवस्था कमजोर भएको गाउँमा रहेको र धेरै सुकुम्बासी एवम् आदिवासी जनजाति अध्ययन गर्ने भएकाले सहयोग गरिएको उनीहरूले बताएका छन् । विद्यालयमा ३०० भन्दा बढी पढ्दै आएका छन् । सहयोग जुटाएर विद्यालय चल्दै आएको छ ।

सहयोग रकम निजी स्रोतका शिक्षकहरूको तलबमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक भरत रेग्मीले बताए । रासस