कुशल श्रेष्ठ

यहि आउँदो चैत १८ गते २०७२ सालको एसएलसी परीक्षा सुरु हुँदैछ र परीक्षा नियन्त्रण कार्यालयले पनि सबै तयारी सम्पूर्ण भएको घोषणा गरिसकेको छ। कति विद्यार्थीहरू भने अझै अलमल्लमा छन्।

एसएलसीलाई ‘फलामे ढोका’, ‘महत्वपूर्ण खुड्किलो’ लगायतका अन्य संज्ञा दिएर विद्यार्थीहरूलाई परिक्षा प्रति डरको वातावरण सृजना गर्ने काम दशकौँ देखि हुँदै आएको छ। परीक्षार्थीहरू पनि सबैको लहैलहैमा लागेर कोहि उत्साहित हुन्छन् भने कोहि हतोत्साहित। यी यावत कारणले नै परीक्षार्थीहरूको मनोविज्ञान नै यस्तो बनिसकेको हुन्छ कि उनीहरू आफैप्रति शङ्का गर्न थाल्छन्।

फेरि धेरैले अरूको कुरा नसुन्ने भएतापनि एसएलसीलाई जटिल ठान्ने गर्छन्, किनभने:
  • एसएलसीमा राष्ट्रभरीकै विद्यार्थीहरूसँग प्रतिष्पर्धा हुन्छ।
  • सँधै परिचित शिक्षकको निगरानीमा परीक्षा दिएको बानी हुँदा एक्कासी अपरिचित ठाउँ, विद्यालय र इन्भिजिलेटरको निगरानीमा परीक्षा दिनुपर्ने हुन्छ।
  • परीक्षाको नियम र नीति पनि राष्ट्रियस्तर कै हुन्छ।
  • कुनै-कुनै अभिभावले एसएलसीलाई प्रतिष्ठासँग जोड्ने गर्छन्, जसको कारण छोराछोरीमा थप दवाव पर्न जान्छ।SLC+2072+routine

परीक्षार्थीहरूले भुल्नै नहुने एउटा महत्वपूर्ण कुरा के हो भन्दा, एसएलसीको लागि पढ्ने क्रममा केवल पाठ्यपुस्तकमा मात्रै भर पर्नुहुँदैन। देशको राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक अनि वातावरणीय गतिविधिको बारेमा पनि ज्ञान लिनु आवश्यक हुन्छ। यसको लागि पत्रिका पढ्ने, समाचार सुन्नु फलदायी हुन्छ।

घोकेको ज्ञानको कुनै मूल्य हुँदैन र त्यस्तो ज्ञानबाट आएको मार्क्सको पनि कुनै अर्थ हुँदैन। साथै परीक्षा दिँदा आफ्नो अक्षरकला पनि शुद्ध, सफा र तार्किक हुनुपर्दछ। यहि भिन्नता र नवीनताले नै अङ्कको निर्धारण गर्दछ।

परीक्षार्थीहरूले ध्यान दिनुपर्ने कुराहरू:-

परीक्षाको लागि तयारी गर्दा:
  • आफ्नो स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्दछ। दिनमा पर्याप्त पानी र सन्तुलिन आहारको भोजन गर्नुपर्दछ।
  • पढ्ने कोठामा शान्त वातावरण सिर्जना गर्न परिवारका सदस्यहरूसँग आग्रह गर्नुपर्दछ र पढ्नको लागि कुन-कुन पुस्तक, नोट अथवा अन्य सामग्री चाहिन्छ, त्यो सबै जुटाउनुपर्दछ।
  • पढ्ने समय तालिका बनाउनुपर्दछ। विषयको कठीनतालाई मध्यनजर गरेर समय छुट्याउनुपर्दछ र अरूबाट सहयोग माग्न हिच्किचाउनुहुँदैन।
  • गणित, लेखा र विज्ञान जस्ता विषयको लागि धेरैभन्दा धेरै अभ्यास जरुरत पर्दछ। त्यसैले यी विषयको लागि अलि धेरै समय छुट्याउनु आवश्यक हुन्छ।
  • शिक्षक, साथी र परिवारका सदस्यहरूसँग राम्रो सम्बन्ध कायम गर्नुपर्दछ।
  • पर्याप्त आराम गर्नुपर्दछ। विहानको समयमा पढ्नु सबैभन्दा उचित हुन्छ।
  • हरेक विषयको प्रत्येक पाठ राम्ररी पढ्नुपर्दछ। कुनै पनि पाठ गाह्रो छ भन्दैमा पढ्न छुटाउनुहुँदैन, यस्तो गर्नाले परीक्षाको बेलामा संकट आइपर्न सक्छ। साथै गाह्रो मान्दा मात्रले पनि सो विषय गाह्रो लाग्न थाल्दछ।
  • अङ्ग्रेजी र नेपाली शब्दकोषलाई साथमा राखेर गाह्रो शब्द वा हिज्जे देख्ने बित्तीकै शब्दकोष (dictionary) पल्टाइहाल्नुपर्दछ।
  • आफ्नो गल्ती र भूललाई चिन्न सक्नुपर्दछ र त्यसलाई सुधार्ने अठोट लिनुपर्दछ।
  • परीक्षाको तयारी गर्दा टिभी सिरियल, चलचित्र जस्ता समय खेर फाल्ने अनावश्यक कुराहरू हेर्नुहुँदैन। यसले दिमागको एकाग्रतालाई भङ्ग गर्दछ र परीक्षाको लागि दिमाग एकतृत हुनु आवश्यक हुन्छ।slc students
(दिमागको एकाग्रता कसरी बढाउने?)
परीक्षा दिने समयमा:
  • मनमा सकारात्मक सोँच र धारणा लिनुपर्दछ। डरलाई जित्ने प्रयत्न गर्नुपर्दछ।
  • एसएलसी परीक्षा पनि अन्य परीक्षा जस्तै सामान्य परीक्षा हो भन्ने सोँच बनायो भने दिमागमा पर्ने दवाव कम हुन्छ।
  • कतिपयले भोलीजस्तो परीक्षा छ भने आजको रातैभरी रटेर बस्ने भूल गर्छन्। यसो गर्नु स्वास्थ्यको लागि त हानिकारक हुन्छ-हुन्छ, भोलीको परीक्षामा समेत नकरात्मक असर पुग्न जान्छ। एकैचोटि धेरै पढ्न खोज्दा गाह्रो अवश्य हुन्छ। त्यसैले पाठ र प्रश्नको प्रकृति हेरेर विचार पुर्याएर पढ्दा थोरै समयमा नै धेरै कुरा सिक्न सकिन्छ।
  • परीक्षा दिनुभन्दा अगाडि एकपल्ट सरर्र सबै पाठको पुनरावृत्ति अभ्यास (revision) गर्नुपर्दछ।
  • परीक्षा भवनमा छिर्नेबेला आफूलाई चाहिने सबै सामग्रीहरू छन् या छैनन् जाँच गरी ढुक्क भएर मात्र छिर्नुपर्दछ।
  • सबै प्रश्नहरूको नआत्तिई, नहडबडाई उत्तर दिनुपर्दछ। सबै उत्तर लेखिसकेपछि १/२ पटक फेरि जाँच गर्नुपर्दछ।
  • समय नपुग्ला जस्तो भयो भने सुरुमा आफूले जानेको-जानेको प्रश्नको उत्तर लेखिहाल्नुपर्दछ। जानेको र सजिलो प्रश्नबाट उत्तीर्णाङ्क हासिल गरिसकेपछि मात्रै समय पुगे गाह्रो र अरू प्रश्नको उत्तर दिनतर्फ लाग्नुपर्दछ।
  • एउटा विषयको परीक्षा दिएर घर फर्किसकेपछि अब बितिसकेको विषयको चिन्ता लिनु व्यर्थ हुन्छ, बरु आउने परीक्षाको लागि तयार रहनु उचित हुन्छ।
(स्मरण शक्ति बढाउने ६ अचुक शुत्र)

तथापी, परीक्षामा सफल-असफल भन्ने कुरा विद्यार्थीको लगनशीलता, अनुशासन र मीहिनेतमा मात्रै होइन, बरु उसको परिवार र अभिभावकको सहयोग, साथ र हौसलमा पनि उत्तिकै भर पर्दछ। त्यसैले यदि तपाईँको छोरा-छोरी, भाञ्जा-भाञ्जी, भतिज-भतिजी अथवा नाति-नातिनीले परीक्षाको लागि तयारी गरिरहेका छन् भने उनीहरूलाई सुहाउँदो वातावरण सिर्जना गरिदिनु तपाईँको परम-कर्तव्य हुन आउँछ। उनीहरूको लागि शान्त कोठा, शुद्ध र सफा खानालगायत, हौसला र माया पनि उत्तिकै दिनुपर्दछ।

यो पनि हेर्नुहोस्-
एसएलसीमा कुन ग्रेड ल्याउनेले ११ पढ्न पाउने ?
सरस्वती मातासँग जोडिएका जीवनमन्त्र, जसबाट धेरै कुरा सिक्न सकिन्छ