काठमाडौं ।

एसीसी अण्डर नाइन्टिन युथ एसिया कप क्रिकेटमा नेपाल र मलेसियाबीचको खेल बर्षाका कारण प्रभावित भएको छ । प्रतियोगिताको तेस्रो खेलमा आज नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको बायुमास ओभलमा तय भएको खेल वर्षाका कारण  अवरुद्ध बनेको हो ।

सेमिफाइनलमा पुग्न नेपालले आजको खेल जितेर मात्रै पुग्ने छैन । भारत र बंगलादेशबीचको खेलको नतिजाले नेपालको भाग्य निर्धारण गर्नेछ । खेलमा बंगलादेश विजयी भएमा नेपालको सेमिफाइनल यात्रा सहज हुनेछ । भारतले जितेमा तीन टोलीको समान चार/चार अंक हुनेछ । यस्तो भएमा नेट रन रेटको आधारमा शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

भारत र बंगलादेश बीचको खेल पनि आजै हुँदैछ । दुई खेलपछि नै समूह ए बाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लाग्नेछ । अहिलेसम्म २ खेलबाट ४ अंकसहित बंगलादेश शिर्ष स्थानमा छ ।

एक/एक खेल जितेका भारत र नेपाल दोस्रो र तेस्रो स्थानमा छन । बंगलादेशले नेपाल र मलेसियालाई हराएको छ भने भारतले मलेसियालाई छ । नेपालले भने भारत विरुद्ध ऐतिहासिक जीत निकालेको छ ।