६ फागुन, काठमाण्डौ ।
संसदको सबैभन्दा ठूलो दलका नाताले कांग्रेस सभापति शेरबहादुर देउवालाई राप्रपाको एकता महाधिवेशनको शुभकामना सन्देशका लागि अन्तिम तिर बोलाइएको थियो ।

फाइल तस्वीर

तर उनको मनमा एउटै कुरा बास जमाएछ कि एमाले अध्यक्ष केपी शर्मा ओलीले हानेको व्यङ्ग्यको जवाफ कसरी दिने । त्यही सोच्दासोच्दै उनले महाधिवेशन आयोजक पार्टी राप्रपालाई शुभकामना दिनै बिर्से ।

ओलीले कांग्रेसलाई व्यङ्ग्य गर्दै भनेका थिए, राप्रपाले सहि लाइन समातेमा एमाले बाहेक सबैलाई धक्का दिन सक्छ । शुभकामना सन्देश दिन स्टेजमा उत्रने वित्तिकै देउवाले शुरुमै ओलीको भनाईको जवाफ दिन भ्याइनभ्याई थियो ।

भनिहाले, ‘हाम्रो पार्टी त विजयी भइरहन्छ, तर ओली जि! विचार गर्नुहोला, राप्रपाले सबैभन्दा बढी मत पाएको तपाईकै जिल्ला झापाबाट हो ।’ तर देउवाले आफ्नाे कुरा ओलीलाई सुनाउन पाएनन किनकी देउवा बोल्दा ओली हिडिसकेका थिए ।

याे पढ्नुस्: राप्रपाले एमाले बाहेक अरुलाई धक्का दिन सक्छः ओली

कार्यक्रममा सभापति देउवाले नेपाल कठिन अवस्थामा रहेको र यो समस्या समाधान गर्नका लागि संविधान संसोधन आवश्यक रहेको भन्दै संसोधनमा सहयोग गर्न सबैसँग अपिल गरे ।

स्थानीय तह, प्रादेशिक र संघीय चुनावले नै हिमाल, पहाड र तराईका जनताको मन जोड्न सक्ने उनको भनाई थियो ।
देउवाले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा राप्रपाका पशुपति शमसेर राण र प्रकाश चन्द्र लोहनी एउटै क्याविनेटमा भएको स्मरण गराउँदै फेरी पनि सबै मिलेर एउटै सरकारमा सहभागि हुनु पर्नेमा जोड दिए ।