५ फागुन, काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष नेता एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकैसाथ अघि बढाउन सकिने संकेत दिएका छन् ।

बुधबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यस्तो संकेत दिएको एक पोलिटब्युरो सदस्यले जानकारी दिए । एमालेले संविधान संशोधन प्रस्ताव पेस हुनै नदिने अडान राख्दै आएको छ ।

संशोधन प्रस्तावमा दुई तिहाइ बहुमत नपुग्ने पक्कापक्की भएपछि एमालेले यसलाई छलफलमा ल्याउन दिने भन्दै लचकता अपनाउन थालेको थियो ।

फाइल तस्बिर

‘प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र आफूबीच बुधबार बिहान भएको बैठकमा संविधान कार्यान्वयनका लागि निर्वाचन अत्यावश्यक भएकोमा जोड दिँदै स्थानीय निर्वाचन र संविधान संशोधन प्रस्ताव एकसाथ अघि बढाउन सहमति जनाएका छौं’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

एमाले र मधेसी मोर्चाबीच केही दिनयता भएका छलफलपछि एमाले मोर्चाका मागमा लचक हुँदै गएको देखिएको छ । पोलिटब्युरो बैठकमा ओलीले भनेका थिए, ‘प्रधानमन्त्री दाहालले बिहीबार मधेसी मोर्चासँग वार्ता गर्ने र उनीहरू निर्वाचनमा सहभागी हुन नमाने पनि चुनाव मिति घोषणा गरेर जाने सहमति आफूहरूबीच भएको छ ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।