१४ मंसिर, महोत्तरी।

संयुक्त मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालका कारण महोत्तरीलगायत तराईका अधिकांश क्षेत्रका विद्यालय बिहानीपखको समयमा सञ्चालन भएपछि विद्यार्थी मर्कामा परेका छन् ।

पछिल्लो केही समययता तराईमा क्रमिक रुपमा बढ्दै गएको चिसोमा यस क्षेत्रका स–साना विद्यार्थी कठ्याङ्ग्रिदै विद्यालयसम्म पुग्न बाध्य भएका छन् ।

मधेसी मोर्चाको आन्दोलनका कारण तीन महिनाको अन्तरालपछि मधेसका जिल्लामा बिहान विद्यालय सञ्चालन भएपछि यस क्षेत्रका स–साना स्कुले विद्यार्थी आँखा मिच्दै किताब बोकी विद्यालय गइरहेका दृश्य हेर्न पाइन्छ । प्रायः सरकारी विद्यालयमा अध्ययन गर्दै आएका न्यूनस्तर एवम् दलित परिवारका विद्यार्थी न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर विद्यालयसम्म जान बाध्य भएका छन् ।

तराईका क्षेत्रमा स–साना बालबालिकालाई बिहानपखको समयमा पठनपाठन गराउन एवम् स्याहार सुसार गर्न निकै नै सास्ती भएको त्रिभुवन उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द राउतको भनाइ छ ।

बिहानको समयमा कक्षा सञ्चालन भएपछि अभिभावकले आफ्ना बालबालिकालाई बिनातयारी नै विद्यालय पठाउने गरेको मावि निगौलकी शिक्षिका हरिमाया क्यापछाकीले बताए ।

विद्यालयमा बेन्च डेस्कको अभाव भएकाले भुइँमा बसाएर पढाउनुपर्ने विद्यार्थीलाई बाहिर चौरमा पढाउँदै आएको जनता निमावि भरतपुरकी शिक्षिका सुनिता महतोको भनाइ रहेको छ ।

वार्षिक परीक्षा नजिकिँदै आएकाले आ–आफ्ना बालबच्चालाई बाध्य भएर विद्यालयसम्म पठाउँदै आएको विजलपुराका अभिभावक गणेशी साहको भनाइ रहेको छ।

संयुक्त मधेसी मोर्चाको आह्वानमा महोत्तरी, धनुषा, सिरहा, सर्लाहीलगायत तराईका अधिकांश जिल्लामा बिहानीपखको समयमा कक्षा सञ्चालन हुँदै आएको छ । जसका कारण अबोध बालबालिका चिसोसँग सामना गर्दै पढ्न बाध्य भएका छन् ।

सीमाङ्कनको विरोधमा अनिश्चितकालीन आमहडतालमा उत्रेको संयुक्त मधेसी मोर्चाको आन्दोलन तथा क्रमिक रुपमा बढ्दै गएको चिसोका कारण विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिकाको जनजीवन प्रभावित भई उनीहरुको स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पुग्ने स्थानीय शिक्षाविद्हरुको अनुमान रहेको छ । राजनीतिक क्षेत्रमुक्त रहेको विद्यालयलाई मौसमानुसार सञ्चालन गर्न सरोकारवाला निकायले समयमै ध्यान दिनु आवश्यक रहेको छ । रासस