१० चैत, काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले अवकाश पाएका आफ्ना कर्मचारीसँग पेन्सनपट्टा किन्ने भएको छ । अवकाश पाएर मासिक पेन्सन थापिरहेका कर्मचारीलाई एकमुष्ट रकम दिएर पेन्सन खरिद गर्ने योजना सो बैंकले बनाएको हो ।

मासिक रुपमा पेन्सन लिइरहेका अवकाशप्राप्त कर्मचारीलाई आकर्षक रकम दिएर ‘पेन्सन बाई ब्याक’ योजना ल्याउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णप्रसाद शर्माले जानकारी दिए ।

मासिक पेन्सन लिइरहेका राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई यस्तो योजनामा सहभागी हुनका लागि निश्चित समय दिइने बैंकले जनाएको छ ।

‘मासिक पेन्सन लिइरहनु भएका पूर्वकर्मचारीले चाहेमा आफ्नो पेन्सन बैंकलाई नै बिक्री गर्ने योजना ल्याउँदैछौं, निश्चित अवधिका लागि आउने यस्तो योजना निकै आकर्षक हुन्छ,’ सीईओ शर्माले भने ।

Rastriya-Banijya-Bank

बैंकले कर्मचारीको पेन्सन किन्नका लागि आन्तरिक गृहकार्य गरिरहेको छ । कर्मचारीको मासिक पेन्सन फरक-फरक भएकाले उनीहरुले पाउने रकम पनि फरक- फरक हुनेछ । मासिक पेन्सन रकम, उमेर उनीहरुको स्वास्थ्य अवस्थाजस्ता कुरालाई आधार मानेर एउटा मूल्य तोक्ने र सो मूल्य बेच्न चाहनेले आफ्नो पेन्सन बेच्न सक्ने ब्यवस्था बैंकले बनाउन लागेको हो । आजको राजधानीमा खबर छ ।

यस्तो योजनाका लागि अहिले आन्तरिक गृहकार्य भइरहेको शर्माले जानकारी दिए । बैंकले आफ्ना पूर्व कर्मचारीसँग पेन्सन खरिद गर्नका लागि आवश्यक बजेटको पनि ब्यवस्था गरेको छ ।