१७ फागुन, काठमाडौं।

बिहानको समयमा क्याम्पस जाने विद्यार्थी बढि दुर्घटनामा पर्न थालेपछि उपत्यकामा ट्राफिक प्रहरीले नियन्त्रणका लागि विशेष अभियान शुरु गरेको छ ।

क्याम्पस जाने विद्यार्थीले तीव्र गतिमा मोटरसाइकल चलाउने, क्षमताभन्दा बढी बोक्ने, हेल्मेट नलगाउने गर्दा दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्न शुरु गरेको हो । क्याम्पस रहेका क्षेत्रहरु ललितपुरको लगनखेल, कुमारीपाटी, जाउलाखेल र एकान्तकुना लगायतका क्षेत्रमा ट्राफिकले छडके जाँच शुरु गरेको छ ।

चेक जाँच अभियानका क्रममा ट्राफिक प्रहरीले मंगलबार २० भन्दा बढि मोटरसाइकल चालकलाई कारवाही गरेको छ । ललितपुरका करिव पचास बटा कलेजमा ३५ हजार विद्यार्थी अध्ययनरत छन् । पछिल्लो एक महिनामा उपत्यकामा ४ सय ८७ सवारी दुर्घटना भएका छन् हुँदा १९ जनाले ज्यान गुमाएका छन् भने २ सय ८९ जना घाइते भएका छन् ।

तीमध्ये विहानी समयमा भएका दुर्घटनामा अधिकांश क्याम्पस पढ्ने विद्यार्थी रहेको ट्राफिक प्रहरीको दाबी छ । त्यस्तै ललितपुरमा पछिल्लो एक महिनामा ६२ वटा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा पर्ने अधिकांश १८ वर्षदेखि २५ वर्ष उमेरका छन् ।