२९ भदौ, काठमाडौं ।

चुनावी सभाका लागि नेपाली काँग्रेसको केन्द्रीय टोली आज सर्लाही र रौतहट पुग्ने भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले आज सर्लाही र रौतहटका चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

उनले सर्लाहीको मलंगवामा दिउँसो १ बजे हुने आमसभालाई संबोधन गर्ने र अपरान्ह ४ बजे रौतहटको गरुढा चिनी मिलको मैदानमा हुने आमसभालाई संबोधन गर्नेछन् ।

सभामा देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव लगायतले सम्बोधन गर्ने कार्यक्रममा रहेको काँग्रेस प्रचार प्रसार उपसमितिको तर्फबाट रौतहट प्रतिनिधि अजयबाबु सिवाकोटीले जानकारी दिए ।

रौतहटको कार्यक्रमलाई संबोधन गरेपछि देउवा सहितको टोली पर्साको वीरगञ्ज प्रस्थान गर्ने कार्यक्रम रहेको छ । वीरगन्ज र बाराको कलैयामा भोली काँग्रेसको आमसभा हुने भएकाले आज बेलुका उनीहरु वीरगञ्ज बस्ने काँग्रेसले जनाएको छ ।

काँग्रेसको शिर्ष टोली हिजो धनुषाको जनकपुरधाम र महोत्तरीको बर्दिवासमा भएका चुनावी सभामा सहभागी भएको थियो ।

काँग्रेसका अर्का नेता गगन थापा भने आज एकैदिनमा रौतहट, बारा, पर्सा र सर्लाहीमा हुने सात ओटा कार्यक्रममा सहभागी हुने छन् ।

उनले रौतहटको गजरा, रौतहटकै विजयपुर, कथहरीया नगरपालिकामा हुने कार्यक्रममाा सहभागि हुनेछन् । त्यसपछि उनी आजै बाराको कोल्भी, सर्लाही र पर्साका विभिन्न ठाँउमा हुने कार्यक्रमहरुमा सहभागी हुने कांग्रेसले जनाएको छ ।