२४ फागुन, सिरहा । प्रहरीले विनाकारण कार्यकर्ता पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस सिरहाले इलाका प्रहरी कार्यालय मिर्चैया र जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।
जिल्लाका विभिन्न गाविसबाट गोलबजारमा एकत्रित भएका हजारौं कााग्रेस कार्यकर्ता मिर्चैया पुगी इप्रका घेराउ र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
पक्राउ परेकालाई म्याद थप्न जिल्ला प्रशासन कार्यालय सिरहा पुर्‍याएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय घेराउ गर्न कांग्रेस कार्यकर्ता सदरमुकाम तर्फ गएका छन् ।
बलकवा गाउँ एकाइ कमिटीका अध्यक्ष रामवृक्ष साह र कार्यकर्ता मो. मोजामिललाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरी सार्वजनिक अपराध मुद्दा दर्ता गरेको विरोधमा नेपाली कांग्रेस सिरहा आन्दोलित भएको हो ।
मधेसी जनाधिकार फोरम -लोकतान्त्रिक) को भातृ सङ्गठन मधेसी युवा फोरम -लोकतान्त्रिक) का केन्द्रीय सदस्य पवन भण्डारीले आफूमाथि गालीगलौज तथा दुव्र्यवहार गरेको भन्दै पक्राउ परेका साह र मोजामिलमाथि किटानी जाहेरी दर्ता गरेकोले उनीहरुलाई पक्राउ गरिएको इप्रका मिर्चैयाका प्रहरी निरीक्षक नरेश सुवेदीले जानकारी दिए ।
नेपाली कांग्रेस सिरहाका जिल्ला सचिव उपेन्द्र यादवले गृहमन्त्रीको आदेशमा प्रहरी उपरीक्षक मनोज न्यौपानेले पूर्वाग्रही भइ आफ्नो दुई कार्यकर्तालाई झुठा मुद्दामा फसाएको दाबी गरे ।