१५ असार, अछाम ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ बैजनाथको मतदान प्रक्रिया खारेज गर्न माग गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुवरको प्रत्यक्ष नेतृत्व र एमाले उपाध्यक्ष भिम रावलको निर्देशनमा सुरक्षाकर्मी र मतदान अधिकृतको संलग्नतामा धाँदली भएको कांग्रेस र माओवादीको दावी छ ।

अरु पार्टीका प्रतिनिधि र मतदातालाई लखेटी एकलौटी रुपमा मतदान गरिएको भन्दै दुई पार्टीले मतदान प्रक्रिया खारेज गर्न माग गरेका हुन् ।

कांग्रेस सचिव नमबहादुर शाही र माओबादी केन्द्रका संयोजक झपट साँउदले संयुक्त विज्ञप्ति निकालेर आफुहरुको सहभागिता नरहेको मतदान प्रक्रिया खारेजी गरि सत्यतथ्य छानबिनको माग पनि गरेका छन् ।

पुनः मतदान प्रक्रिया अघि नबढाएसम्म चौरपाटी गाउपालिकाका कुनै पनि वडाको मतगणना अघि बढाउन नदिने विज्ञप्तिमा उल्लेख छ ।

मतदानका क्रममा प्रेस पासको दुरुपयोग गर्दै एमाले समर्थित पत्रकारले अरुको नाममा पनि मतदान गरेको कांग्रेस र माओवादीको भनाई छ । दुई पाटीका उम्मेदवारले मतदान अधिकृतलाई मतदान स्थगित गर्न हिजो नै निवेदन दिएका थिए ।

हेर्नुस विज्ञप्ती: