१ भदौ, चितवन ।

चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, नारायणगढ बजार हाइवे, आँपटारी र बाइपास सडकखण्डमा संकटकालीन अवस्थामा बाहेक हर्न बजाउन नपाइने गरी निषेध गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार साउन १७ गते बसेको सरोकारवाला निकायको बैठकले आजदेखि हर्न निषेध गर्ने निर्णय गरेको थियो ।

चर्को आवाजका कारण मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर परेको भन्दै काठमाडौं र पोखरामा यसअघि नै हर्न निषेध लागु गरिसकेको छ । निषेधित ठाउँमा हर्न प्रयोग गरे पाँच सय देखि १ हजार ५ सय रुपैयाँ सम्म जरिवाना हुनेछ ।