बलिउड नायिका श्रीदेवीकी छोरी जाहन्वी कपूर पश्चात जाहन्वीकी बहिनी खुशी कपूर छिट्टै बलिउडमा डेब्यु गर्ने भएकी छिन्। नेहा धुपियाको सेलेब्रेटी टक शोमा खुसीले बलिउडमा चाडै डेब्यु गर्ने खुलासा गरेकी हुन।

स्टारकिडहरुलाई बलिउडमा डेब्यु गराउने निर्माता/निर्देशकको रुपमा चिनिएका करण जोहरले नै खुसीलाई पनि बलिउडमा भित्र्याउने छन्। खुसीको अनुसार सो फिल्ममा हिरो उनका पिता बोनी कपुरले छान्नेछन्।

टक शोमा बोल्दै खुसीले घरमा कर्फ्युजस्तो माहौल भएको पनि बताइन। घरमा सबैभन्दा सानी भएकीले उनीप्रति बोनी कपुर बढी प्रोटेक्टिभ रहेछन्। त्यसैले छोरी को संग छिन्, कहाँ छिन्, कहिलेसम्म बाहिर हुनेछिन् भन्नेबारे खबर लिइरहन्छन्। एकपटक त साथीसंग छु भन्दा बुवाले फोटो प्रमाण मागेको खुसीले बताइन।

उनी भन्छिन्, ‘म कोसंग छु भन्ने कुराले मेरो पितालाई चिन्तित बनाउँछ। राम्रो मान्छेसंग छु भने उहाँलाई कुनै चिन्ता हुँदैन। असल मान्छेको संगतमा रहुँ भन्ने चाहनुहुन्छ। यही कारण मेरो फिल्मको हिरो उहाँले छान्नुहुनेछ।’

सन् २००० मा जन्मेकी खुसी अहिले १८ वर्षकी भइन। उनकी दिदी जहान्वी कपुर उनी भन्दा ३ वर्षले जेठी छिन्। जहान्वीले फिल्म ‘धडक’बाट बलिउडमा डेब्यु गरेकी थिइन।