१ माघ, काठमाडौं । प्याराग्लाइडिङको मज्जा लिन पोखरासम्म पुग्नुपर्ने झन्झटबाट अब छुटकारा मिल्ने भएको छ ।

payraglaiding

काठमाडौंबाट झण्डै ४० किलामिटर टाढा रहेको काभ्रेको बिहाबर (कुशादेवी र रयाले) क्षेत्रमा पर्ने गुर्दुमडाँडामा प्याग्लाइडिङको परीक्षण उडान भएको छ । कुशादेवी सरोकार समाजको पहलमा शनिबार सो क्षेत्रमा प्याराग्लाइडिङको परीक्षण उडान भएको हो ।

pyaraglaiding९ पटक सगरमाथाको आरोहण गरेका पेम्वाछिरिङ शेर्पाले बिहाबर क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने अभियानस्वरुप २९ पुसमा लाकुरीभञ्ज्याङदेखि गुर्दुमडाँडासम्म ‘एक्सट्रिम साइक्लिङ र्याली इभेन्ट’ भएपछि आज प्याराग्लाइडिङको नमूना परिक्षण भएको हो । नमूना परीक्षणमा तीनवटा प्याराग्लाइडिङ उडाइएको थियो । गुर्दुमडाँडाबाट उडाइएको प्याराग्लाइडिङ कुशादेवी बजारनजिक उतारिएको थियो ।

payraglaiding-1

कार्यक्रममा क्याप्टेन रामेश्वर थापा, पत्रकार कनकमणि दिक्षीतसहित व्यक्ति सहभागी थिए । त्यस क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागि लाकुरीभञ्ज्याङ, फूलचोकी, गुर्दुमडाँडा, नाँगीडाँडादेखि कुशादेवीसम्म साइकल ट्रयाक पनि खुलिसकेको छ । साथै बिहाबर क्षेत्रका पर्यटन प्रवद्र्धन गर्नका लागि कुशादेवीको गुर्दुमडाँडा नयाँगाउँमा होमस्टेकोसमेत सुरुवात भइसकेको छ ।

परीक्षण सफल भएपछि नियमित प्याराग्लाइडिङ उडान गर्ने तयारी सरोकार समाजको छ । गुर्दुमडाँडाबाट बिहाबर क्षेत्रको सुन्दर बस्ती, हरियाली, हिमाली क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ ।