तनहुँ, २४ माघ ः व्यासनगरपालिका–४ स्थित कालिका जङ्गल पार्कमा प्यागोडा शैलीको कलात्मक कालिका मन्दिर निर्माण गर्न थालिएको छ ।उक्त मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गर्ने उद्देश्यले काठ, इँटा र धातु प्रयोग गरी मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण अघि बढाइएको हो ।

सैँतिस हेक्टर क्षेत्रफल वनमध्ये करीब आठ हेक्टर जमीन ओगटेको तनहुँ कालिका शहीद शान्ति पार्क भित्र उक्त मन्दिर निर्माण थालिएको र यसमा हालसम्म रु एक करोड २० लाख खर्च भइसकेको र अझै रु एक करोड १८ लाख अपुग हुने देखिएको मन्दिर निर्माण समितिका कोषाध्यक्ष एकबहादुर रानाले बताउनुभयो । । मन्दिरमा गजुर राखिने र तामाको पाताले छाना छाइने योजना छ ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय, स्थानीय विकास मन्त्रालय, व्यासनगरपालिका, जिल्ला समन्वय समिति, तनहुँ उद्योग वाणिज्य सङ्घ, दमौली बजार एकाइको सहयोग र जनसहभागितामा उक्त कार्य अघि बढाइएको हो ।

“एकसय धार्मिक पर्यटकीय गन्तव्यस्थलभित्र तनहुँ कालिकालाई पनिसरकारले सूचीमा राखेर यस वर्षदेखि संवद्र्धन गर्न थालेको छ,” उहाँले भन्नुभयो, “शान्त वातावरण र रमाइलो स्थान भएकाले पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्न सक्छ । करीब रु चार लाखको लागतमा मन्दिरको अगाडि भागमा घण्टा झुण्डाइने स्थानमा नौ थरिका इँटा प्रयोग गरिएको छ।”

(रासस)